मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मुगुको छायाँनाथ–रारा नगरपालिका–९ स्थित रारा तालको किनारमा फुल्ने दुर्लभ जंगली फूल छाडा पशुचौपायाका कारण नष्ट हुँदै गएका छन्।
रारा क्षेत्र जैविक विविधताका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। यहाँ हरेक वर्ष ५०० भन्दा बढी प्रजातिका जंगली फूल फुल्ने गर्छन्। तर, पछिल्लो समय छाडा चौपायाको अनियन्त्रित चरिचरनका कारण ती फूल तथा तिनको प्राकृतिक बासस्थानमा प्रतिकूल असर परेको स्थानीयवासी बताउँछन्।

स्थानीयका अनुसार रारा राष्ट्रिय निकुञ्ज, ताल संरक्षणसँग सम्बन्धित निकाय तथा सरोकारवाला पक्षले प्रभावकारी संरक्षणका उपाय अवलम्बन गर्न नसक्दा रारा क्षेत्रको प्राकृतिक सौन्दर्य र जैविक सम्पदा जोखिममा पर्दै गएको छ।

समयमै छाडा चौपायाको व्यवस्थापन र जंगली वनस्पतिको संरक्षणका लागि आवश्यक कदम नचालिए रारा किनारको अनुपम प्राकृतिक सौन्दर्य र दुर्लभ वनस्पति भविष्यमा थप संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।





तस्बिर : दानबहादुर बुढा/नेपाल न्यूज बैंक




















