नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

केन्द्रबिन्दु
231
Shares

पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

अस्पतालमा गत शनिबार भएको तोडफोड, चिकित्सकमाथि भएको कुटपिट तथा त्यसपछिको घटनाक्रममा प्रशासनले असहयोग र दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामासमेत माग गरेका हुन्।

नारायणी अस्पतालमा कार्यरत डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये झन्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले सामूहिकरूपमा पदत्याग गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

चिकित्सकको आन्दोलनका कारण हाल अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ। डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न अनुरोध गरेपछि चिकित्सकहरू त्यसबारे सकारात्मक छलफलमा थिए।

उनले चिकित्सकमाथि आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासन पाएपछि आफूहरू वार्ताका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेको बताए। तर, वार्ताको क्रममा वातावरण अप्रत्याशितरूपमा तनावग्रस्त बनेको उनको दाबी छ।

डा. सिंहका अनुसार छलफलकै क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि प्रमुख जिल्ला अधिकारी असन्तुष्ट बनेका थिए। त्यसपछि सीडीओ र एसपीले चिकित्सकहरूप्रति अपमानजनक शब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप उनले लगाए।

Logo