प्रधानमन्त्रीसँग दूरी बढेको चर्चाबीच अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति- ‘प्रधानमन्त्रीसँग घनिष्ठ समन्वय छ’

प्रधानमन्त्रीसँग दूरी बढेको चर्चाबीच अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति- ‘प्रधानमन्त्रीसँग घनिष्ठ समन्वय छ’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक नीतिका विषयमा अत्यन्त नजिकको समन्वय र निरन्तर संवाद भइरहेको स्पष्ट पार्दै सरकारभित्र मतभेद रहेको भन्ने चर्चा निराधार भएको बताएका छन्। उनले बजारमा फैलाइएका अफवाह र भ्रमपूर्ण प्रचारप्रति विश्वास नगर्न पनि आग्रह गरेका छन्।

पछिल्लो समय प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिसँग गरेका विभिन्न छलफलमा अर्थमन्त्री वाग्लेको उपस्थिति नभएको विषयलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको चर्चा सार्वजनिक भइरहेका बेला वाग्लेले त्यसबारे पहिलोपटक सार्वजनिक रूपमा धारणा राखेका हुन्।

मंगलबार अर्थ मन्त्रालयमा उद्यमी–व्यवसायीसँग भएको छलफलका क्रममा उनले प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नियमित छलफल भइरहेको र सरकारभित्र आवश्यक समन्वय प्रभावकारी ढंगले अघि बढिरहेको बताए।

वाग्लेका अनुसार मन्त्रिपरिषद्को प्रत्येक बैठकपछि प्रधानमन्त्रीसँग आर्थिक विषयमा विस्तृत छलफल हुने गरेको छ। आर्थिक सुधार, निजी क्षेत्रका समस्या, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा दुवैबीच निरन्तर विचार–विमर्श भइरहने उनले उल्लेख गरे।

उनले भने, ‘हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ । यो सब कुराहरू पत्याउन छोडिसके जस्तो लाग्छ । यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो । अर्थमन्त्री–प्रधानमन्त्रीको क्लोज कोर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन् । बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला ।’

अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले आर्थिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए। उनका अनुसार प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग नियमित संवादमा छन् र उद्यमी–व्यवसायीले उठाएका समस्या तथा सुझावलाई सम्बन्धित मन्त्रालयसम्म तत्काल पुर्‍याएर समाधानका लागि आवश्यक समन्वय गर्ने गरेका छन्।

प्रधानमन्त्रीको तहबाट आर्थिक विषयमा विगतका तुलनामा बढी चासो र सक्रियता देखिएको दाबी गर्दै वाग्लेले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा केन्द्रित रहेको बताए। साथै, सरकारभित्र समन्वयको अभाव रहेको वा आर्थिक नीतिमा मतभेद उत्पन्न भएको भन्ने चर्चामा कुनै सत्यता नरहेको उनको भनाइ थियो।

Logo