नेपालमा पहिलो पटक राष्ट्रिय विद्यालय नवप्रवर्तन लिग हुँदै, १० हजार विद्यार्थीले लाभ लिने

नेपालमा पहिलो पटक राष्ट्रिय विद्यालय नवप्रवर्तन लिग हुँदै, १० हजार विद्यार्थीले लाभ लिने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालमा विद्यालय तहको सबैभन्दा ठूलो तथा पहिलो राष्ट्रिय रोबोटिक्स, इन्टरनेट अफ थिङ्स र नवप्रवर्तन प्रतियोगिता ‘नेशनल स्कुल इनोभेसन लिग (एनएसआईएल) को औपचारिक शुभारम्भ भएको छ ।

दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिले आयोजना गरेको प्रतियोगितामा देशभरका कक्षा ३ देखि १० सम्मका करिब १० हजार विद्यार्थीलाई सहभागी गराई रोबोटिक्स, प्रोग्रामिङ, इलेक्ट्रोनिक्स तथा नवप्रवर्तनमा आधारित व्यवहारिक सिकाइसँग जोड्ने लक्ष्य राखिएको दूरशिक्षा एजुकेसन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे जानकारी दिए ।

पाण्डेका अनुसार यो नेपालमा विद्यालयस्तरमा सञ्चालन हुन लागेको पहिलो राष्ट्रिय नवप्रवर्तन लिग हो । प्रतियोगिताका लागि साउन ११ गतेदेखि भदौ १८, २०८३ सम्म दर्ता खुला गरिएको छ । आयोजकको वेबसाइट मार्फत अनलाइन दर्ता तथा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने व्यवस्था आयोजकले मिलाएको छ । भदौ मसान्तभित्र सहभागी विद्यालयहरूमा इनोभेसनकिट उपलब्ध गराइनेछ भने असोज ७ गतेदेखि शिक्षक तथा विद्यार्थीका लागि प्रशिक्षण सञ्चालन गरिने पाण्डेले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत देशका ९ प्रमुख सहरमा मंसिर र पुस महिनामा क्षेत्रीय प्रतिस्पर्धा हुनेछ । त्यसपछि उत्कृष्ट टोलीहरू काठमाडौंमा आयोजना हुने राष्ट्रिय ग्राण्ड फिनालेमा सहभागी हुनेछन । राष्ट्रिय विजेता टोलीहरूले कुल पाँच लाख बराबरको नगद पुरस्कार प्राप्त गर्ने छन । प्रतियोगिता तीन तहमा सञ्चालन हुनेछ । जहाँ कक्षा ३ देखि ५ सम्मका लागि बेस क्याम्प लिग, कक्षा ६ देखि ८ सम्मका लागि असेन्ट लिग तथा कक्षा ९ देखि १० सम्मका लागि समिट लिग हुनेछ । प्रत्येक तहका लागि छुट्टाछुट्टै परियोजना, इनोभेसन किट र मूल्याङ्कन प्रणाली तयार गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विद्यार्थीहरूले समुदाय तथा दिगो विकास लक्ष्य (एसडीजीज) सँग सम्बन्धित वास्तविक समस्याको समाधान गर्ने प्रविधिमैत्री परियोजना विकास गर्नेछन् । सहभागी विद्यालयलाई इनोभेसन किट, विद्यार्थी कार्यपुस्तिका, परियोजना मार्गदर्शन, शिक्षक तथा विद्यार्थी प्रशिक्षणलगायत आवश्यक प्राविधिक सहयोग समेत आयोजकले उपलब्ध गराउनेछ ।

‘कक्षाकोठाबाट विश्व मञ्चसम्म’ भन्ने नारासहित हामीले यो प्रतियोगिता गरेका छौं,’ पाण्डेले भने,‘यो केवल प्रतियोगिता मात्र नभई विद्यालय तहमा वैज्ञानिक सोच, नवप्रवर्तन र प्रविधिमैत्री शिक्षालाई प्रवद्र्धन गर्ने राष्ट्रिय अभियान हो। यसमार्फत विद्यार्थीलाई भविष्यका वैज्ञानिक, इन्जिनियर, आविष्कारक तथा उद्यमी बन्न प्रेरित गर्नेछ ।’

Logo