समयमै लगत संकलन पूरा नहुँदा निःशुल्क काम गर्न बाध्य

समयमै लगत संकलन पूरा नहुँदा निःशुल्क काम गर्न बाध्य

केन्द्रबिन्दु
0
Shares

नुवाकोट, २४ कात्तिक । लक्षित उद्देश्यको समयसीमा पूरा भएको भन्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पपीडितको घर पुनः सर्भेक्षणमा खटाएको इञ्जिनियरलाई फिर्ता बोलाए पनि नुवाकोटमा भने संकलनलाई निरन्तरता दिइएको छ ।

क्षतिग्रस्त घर पुनः सर्भेक्षणको काम पूरा नहुँदै भूकम्प अति प्रभावित १४ जिल्लाका इञ्जिनियरको रोजगार सम्झौता अवधि सकिएको भन्दै फिर्ता बोलाए पनि नुवाकोटमा भने काम बाँकी रहेको स्थानमा इञ्जिनियरले अतिरिक्त सुविधा नलिने गरी निःशुल्क निरन्तर काममा खटिएका छन् । सर्वे समूहका रहेका इञ्जिनियर, सामाजिक परिचालक लगायतको ५० दिनको कार्य करार अवधि कात्तिक २१ मा सकिएको छ । नुवाकोटमा करिब पाँच हजार ५०० भूकम्प प्रभावित लाभग्राहीमा समावेश हुन छुट भएको आशंकामा ५० दिनको कार्य जिम्मेवारी दिएर भदौ पहिलो साता १६ सर्वे समूह परिचालन गरिएको थियो । 

तोकिएको कार्य अवधिमा लगत संकलन पूरा नभएकाले सर्वे समूहलाई कार्य पूरा नभएसम्म तोकिएको सुविधा उपलब्ध गराउन नसक्ने भन्दै निःशुल्क रुपमा काममा लगाइएको छ । उनीहरुलाई थप सुविधा आएमा पाउने गरी कामलाई निरन्तरता दिन लगाएको पुनः निर्माण प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटले जनाएको छ । १६ जना इञ्जिनियरको नेतृत्वको समूह परिचालन भएकोमा आठ समूहले समयमै काम पूरा नगरेकाले थप सुविधा नदिने गरी लगत संकलनको कार्य जारी राखेको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए । 

बैठकले भूकम्प र त्यसपछिको पहिरोको कारण बासस्थान जोखिममा रहेको स्थानमा भूगर्भविद्मार्फत सर्वेक्षण गराउनुपर्ने बस्तीका परिवारलाई मंसिर मसान्तसम्म जिल्ला दैवी प्रकोप उद्धार समिति तथा जिल्ला प्रशासन कार्यायलयमा निवेदन दिन सक्ने व्यवस्था गरेको छ । प्राधिकरणले अहिले लगत संकलन सम्पन्न गरिसकेको तथा जारी रहेको छुट भूकम्पपीडितको लगत संकलन र अझै थप निवेदन माग गरी लिएको लगतको माघसम्ममा अन्तिम नतिजा सार्वजनिक गरी लाभग्राही पहिचान गर्ने लक्ष्य बनाएको छ । रासस

Logo