काठमाडौं ।
सामान्यतयाः नेपालमा हरेक वर्ष दशैं तिहारपछि जाडो सुरु हुने गर्छ । तर, यसवर्ष भने दशैं सकिनासाथ दिनदिनै जाडो बढेको हामीले महशुस गरिरहेका छौं । जाडो मौसम छालाको लागि खासै अनुकुल मानिदैन । त्यसैले जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ ।
जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । त्यसैले जाडो सुरु हुने बित्तिकै सबैभन्दा पहिला ओठ सुख्खा हुने समस्या हुने गर्छ । चिसो वातावरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन हरेक सेकेण्ड खोसिने गर्छ । यस अवस्थामा छालाको तुरुन्तै हेरविचार नगरे सुख्खा छाला फुट्ने, एलर्जी हुने, रगत निस्किने जस्ता छालाका विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । जसले सौन्दर्यमा ह्रास ल्याउनुको साथै अनुहार फुस्रो र अस्वस्थ देखिन्छ ।
जाडोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छाला सम्बन्धी रोगहरू समेत बल्झिने गर्छ । अझ काठमाडौं वा शहरी क्षेत्रमा धुलो–धूँवाले छालालाई थप नोक्सान पुर्याइरहेको हुन्छ । त्यसैले जाडो याममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।
जाडोमा छाला सुख्खा किन हुन्छ ?
जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ । जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ ।
छाला सुख्खा भएपछि खस्रो हुने, फुट्ने आदि हुन्छ । जसका कारण छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, चिलाउने, दागहरु आउने, अनुहारमा चाया–पोतो आउने तथा बढ्ने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्दछ । यस्तै हात खुट्टाका औँला सुन्निएर निलो हुने समस्या समेत हुने गर्छ । यसरी वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न आवश्यक छ ।





























प्रतिक्रिया