काठमाडौँ, १७, कात्तिक
अवैध रुपमा इँट्टा उत्पादन गरेको भन्दै हरिसिद्धि इँट्टा तथा टायल कारखानामा आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ । राजस्व छली गरी अवैध रुपमा इँट्टाभट्टा सञ्चालन गरेको भन्दै राजस्व कार्यालयले कारखानाको इँट्टा बिक्रीको खाता, लेखा विभागको कम्प्युटर कब्जामा लिएको हो । हरिसिद्धि इँट्टा तथा टायल कारखानाले आयकर तर्फ करिब चार करोड र भ्याट दुई करोड गरी छ करोड रुपैयाँ तिर्न बाँकी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ । कारखानाले आर्थिक वर्ष २०५८,०५९ देखिको आयकर र भ्याट पनि तिरेको छैन । त्यस्तै कारखानाले आव २०६०,०६१ देखि वार्षिक साधारणसभाको प्रतिवेदन समेत कम्पनी रजिस्ट्रार कार्यालयमा पेस नगरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
हरिसिद्धि कम्पनीले २०७३ जेठमा एनबी मार्केटिङ, वाग्मती इन्भेस्टमेन्ट्स, रिलायवल इन्भेस्टमेन्ट्स, ल्होत्से इन्भेस्टमेन्ट्स र सर्वसाधारण सेयरधनीका तर्फबाट अध्यक्षमा राजेन्द्र राजभण्डारी सहित चार सदस्यीय सञ्चालक समिति गठन गरी प्रमाणितका लागि कम्पनी रजिस्ट्रार कार्यालयमा पठाएको थियो । तर रजिस्ट्रार कार्यालयले साधारणसभा नगरेकाले कम्पनीको सञ्चालक प्रमाणित गर्न नमिल्ने भन्दै फिर्ता पठाएको थियो । त्यसपछि भण्डारीको अध्यक्षता रहेका सञ्चालक समितिले कम्पनी प्रमाणित नै नगरी कारखानाको व्यवस्थापकमा दीपज्योति इन्टरप्राइजेजका सञ्चालक दीपराम महर्जनलाई छनोट गरेर सञ्चालन गर्न दिएको हो । कारखानाले कार्यालयलाई सञ्चालकको लगतबिना खडा गरिएको कारखानाका अवैध व्यवस्थापनक दीपज्योति इन्टरप्राइजेजका सञ्चालक महर्जनले कारखानाबाट अवैध रूपमा २ नम्बर मेसिनबाट दैनिक १५ देखि २० हजार इँट्टा उत्पादन गर्दै आइरहेको सेयरधनीहरूको आरोप छ । कारखानामा तीनवटा मेसिन छन् । सेयरधनीहरूका अनुसार सञ्चालकले सुरुका केही दिनमा दीपज्योति इन्टरप्राइजेजको नाममा बिल काटेको देखाइएको छ ।
आर्थिक दैनिकबाट





























प्रतिक्रिया