पोखरा, १६, कात्तिक
पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग राख्दै बुधबार देखि पोखरा लेखनाथ महानगरपालिका कार्यालयको मूलद्वारमा रिले अनशन शुरु गरिएको छ । पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना संघर्ष समितिको अगुवाइमा शुरु गरिएको रिले अनशन मंसिर २० गते सम्म रहने र मागको सुनुवाइ नभएमा त्यसपछि कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिका संयोजक शंकर बरालले बताए ।
पहिलो चरणअन्तर्गत बुधबार डा. दिलबहादुर क्षेत्री, पदमबहादुर कार्की, पूर्व सभासद कृष्णकुमारी परियार, रामप्रसाद वस्ताकोटी, डिलबहादुर अधिकारी, पूजा शाह, टंकनाथ बराल, रुकु परियार र कृत्तिका परियार रिले अनशन बसेका छन् । अनशन शुरु गर्न आयोजित कार्यक्रममा पूर्व सभासद तथा उद्योगपति सूर्यबहादुर केसीले पूर्ववत पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा महानगरपालिकाले शहीद लखन थापाको शालिक राख्नु गलत भएको बताए । संघर्ष समितिका सदस्य डा दिलबहादुर क्षेत्रीले पृथ्वीनारायण शाहसँग तुलना गर्ने कुनै विभूति नभएको बताउँदै पृथ्वीचोकमा पूर्ववत् पृथ्वीनारायणकै शालिक राख्नुपर्ने उल्लेख गरे ।
दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेपछि उक्त चोकमा मगर संघले शहीद लखन थापाको शालिक निर्माण गरेको थियो । सडकको ट्राफिक व्यवस्थापनमा कठिनाइ र सडक साँगुरो भएपछि पोखरा लेखनाथ महानगरपालिकाले असोज ९ गते लखन थापाको शालिक हटाएकोमा पुनः नगरपालिकाबाट बजेट विनियोजन भई लखन थापाको शालिक निर्माण भइरहेको छ । शालिक हटाएकै भोलिपल्ट असोज १० गते मगर समुदायको दबाबपछि जिल्ला प्रशासन कार्यालय, कास्की र पोखरा लेखनाथ महानगरपालिकाबाट उक्त स्थानमा पुनः लखन थापाको शालिक निर्माण गर्ने निर्णय गरिएको थियो ।
रासस





























प्रतिक्रिया