सोलुखुम्बु, १६, कात्तिक
सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ । नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो । सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । विभागका अधिकृत सहित तीन जनाको टोली खटाएर काम थालनी गरिएको हो । कात्तिक ७ गते सोलुखुम्बु पुगेको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको छ । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई/दुई स्थानमा उक्त बिन्दु राखिएको बताइएको छ ।
टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ भने बाँकी खोज्नेक्रम जारी रहेको जनाएको छ । तत्काल जाडो बढेकाले अन्य थप काम गर्न नसक्ने भएपछि हिजै उक्त टोली काठमाडौँ फर्किएको छ । दुई वर्षसम्म काम पूरा गर्ने लक्ष्य सहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए । करिब ६० वर्ष अघि भारतीय सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेपछि पुनः उचाइ नाप्ने काम भएको थिएन । ०७२ को भूकम्प पश्चात सगरमाथाको अवस्था पत्ता लगाउनका लागि पनि उचाइ मापन गर्न लागिएको अधिकृत डंगोलले बताए ।
बाह्र वटा बिन्दुमा लेभलिङ राखिने र सगरमाथाको चुचुरोमा जिपिएस सर्वेक्षण राखेर उचाइ मापन गरिने छ । उचाइ मापनका लागि विभागले सम्पूर्ण खाका तयार पारिसकेको बताइएको छ । प्रारम्भिक चरणको प्रतिवेदन तयार भएपछि सर्वेक्षक, विज्ञ सहित अन्तर्राष्ट्रियस्तरको गोष्ठीमा थप छलफल हुने र गोष्ठीबाट स्वीकृत भएपछि मात्र उचाइ मापनले मान्यता पाउने छ । भारतीय सर्वेक्षक समूहले सगरमाथाको उचाइ ८८४८ मिटर भएको पुष्टि गरेको थियो । तर भूकम्प लगायतको कारण सगरमाथाको उचाइ घट्बढ भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालले गर्न लागेको यो सर्वेक्षणबाट उत्पन्न शंका उपशंका हट्नेछ ।
रासस





























प्रतिक्रिया