काठमाडौं, १५, कात्तिक
भूकम्पले काम नलाग्ने गरी क्षतिग्रस्त भएको बागदरबार परिसरको हरि भवन भत्काई काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि तीन भिन्न मोहडाको सम्मिश्रण गरी नयाँ भव्य भवन बनाउने भएको छ। पहिलो मोहडा ऐतिहासिक बागदरबार भवनको स्वरुप झल्कने गरी तीन तलाको हुनेछ भने दोस्रो मोहडा लिच्छवीकालीन परम्परागत शैली (पूर्ण मल्लकालीन स्वरुप) मा साँढे ६ तलाको हुनेछ।
तेस्रो मोहडा अत्याधुनिक शैलीमा महानगरपालिकाको पहिचान दिने १५ तले टावर हुनेछ जसबाट काठमाडौं उपत्यकाको दृष्य हेर्न, विभिन्न हिम श्रृंखलाको दृष्यावलोकन गर्न र विपद व्यवस्थापन गर्न प्रयोग हुने किसिमले निर्माण गरिनेछ। सोही भवनमा आइटी पार्क, अन्तर्राष्ट्रिय कुटनीतिक बैठक, सेमिनार र सभा सम्मेलन गर्ने हलहरु समेत हुनेछन्।महानगरपालिकाको भवनभित्र पौराणिककाल देखि लोपहुँदै गएका सम्पदा, पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्ने उद्देश्यले व्यवस्थित संग्रहालय बनाइनेछ भने महानगर परिसरमै पौराणिक ढुंगेधारा र व्यवस्थित पाटी पौवा बनाइनेछ । काठमाडौंमा लोप हुँदै गएका पुरातात्विक चोकहरुको पूर्णस्वरुप झल्कने गरी चारवटा परम्परागत मल्लकालीन शैलीका चोक पनि भवन भित्र हुनेछन्। पाटीपौवाको प्रयोग विदेशी पाहुनाका लागि नेपाली परम्पराअनसार सम्मान र सत्कार गर्न र भजन तथा नृत्यका लागि उपयोग गरिनेछ। यस्तै सेवाग्राहीको सुविधाका लागि आकस्मिक स्वास्थ्य उपचार कक्षसमेत बनाइनेछ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया