केन्द्रबिन्दु संवाददाता । झापा, १० कात्तिक ।
अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटी हत्याको विषयमा आफन्तसमेत स्थानीय र प्रहरीबीच झडप हुँदा तनावग्रस्त बनेको झापाको विर्तामोडमा कर्फ्यु आदेश जारी भएको छ ।
स्थानीय प्रशासनले शुक्रबार दिउँसो साढे १ बजेबाट कर्फ्यु लागू गरेको हो । तर, सर्वसाधारणको आक्रोश कम हुन सकेको छैन र उनीहरूले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् । आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय नजिकै रहेका दर्जनौ सवारी साधनमा आगजनी गरेका छन् ।
स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्म कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । कर्फ्यु अनिश्चित कालका लागि लगाइएको बताइएको छ ।बालक शिवाकोटी हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको शान्तिपूर्ण र्यालीमा प्रहरीले अचानक दमन गरेपछि विर्तामोडको स्थिति आज बिहानैबाट तनावग्रस्त बनेको थियो ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीको शब त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेश पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरी दिंदा पनि प्रहरीले कारबाही प्रक्रिया नथालेको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गरेका थिए ।

































प्रतिक्रिया