बाबियाचौर, ३ कात्तिक । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामाजिक विकृत्तिको रुपमा रहेको जुवा नियन्त्रण “अपरेशन”लाई तीव्रता दिएको छ ।
बेनीका जुवा घरमा छापा मारेर प्रहरीले दैनिकजसो जुवाडे पक्राउ गर्न थालेको हो । एक हप्तायता तीनवटा जुवाघरमा छापा मारेर २३ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।
असोज २८ गते बेनीको पिपलचोकस्थित दिपशिखा होटलमा छापा मारेर सो होटलका सञ्चालक लेखनाथ शर्मासमेत सातजना पक्राउ परेका थिए । उक्त जुवा खालबाट नगद रु १३ हजार र चार बुक तास बरामद भएको थियो । असोज ३१ गते बेनी नपा–९ गलेश्वरस्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुनसहित तास खेलिरहेका नौजना पक्राउ परेका थिए । उनीहरुको साथबाट नगद रु तीन हजार ८०० र चार बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कात्तिक १ गते बेनी नपा ८ स्थित कुमारी पुनको घरमा छापा मारेको प्रहरीले पुनसहित सातजनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाली र भारतीय रुपैयाँ तथा जुवा खेल्न प्रयोग गरिने सिक्कासमेत बरामद गरिएको छ ।
पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्ने जुवाडेमा राजनीतिक कार्यकर्ता, जनप्रतिनिधिदेखि समाजका वरिष्ठ भनिएका व्यक्तिसमेत रहेको बुझिएको छ । बेनीमा कोठा भाडा लिएरै व्यावसायिक रुपमा जुवा, तास खेलाउने गरेको बताइए पनि प्रहरीले यसपालिदेखि जुवातास नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । रासस





























प्रतिक्रिया