केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २ कात्तिक ।
आइओएमको एमबिबिएस प्रवेश परीक्षामा चिट चोरी कार्यमा एसपीकै छोरा संलग्न रहेकोे तथ्य बाहिर आएको छ । एमबिबिएस प्रवेश परीक्षामा प्रविधिको प्रयोग गरी इलेक्ट्रोनिक डिभाइसमार्फत चिट चोरी कार्यमा गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्ने नेपाल प्रहरीका एक एसपीकै छोराकोे पनि संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।
गत शनिबार चिट चोरी रहेको अवस्थामा इलेक्ट्रोनिक डिभाइससहित पक्राउ परेकामध्ये सक्षमराज भण्डारी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज भण्डारीका छोरा हुन् । सक्षमराज सहित ६ जना विद्यार्थीलाई प्रहरीले एक रात थुनामा राखेरा छाडिदिएको थियो ।
चिट चोरी कार्यमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये १२ जना माथि प्रहरीले उक्त कार्य विरुद्ध मुद्दा नै चलाएको छ ।
विद्यार्थीहरुलाई इलेक्ट्रोनिक म्याग्नेटिभ डिभाइसमार्फत चिट चोराउने काम सप्तरीका समीर कुमार झाको गिरोहले सहयोग गरेको थियो । गिरहोका नाइके झाले त्यसबापत प्रतिविद्यार्थी ५ लाख रुपैयाँसम्म उठाएका थिए । एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्न एसपी भण्डारीले समेत छोरालाई गलत बाटोमा लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
गत शनिबार पक्राउ परेको गिरोहका १० जनालाई विद्युतीय कारोबार र ठगी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । नाइके झासहित १० जनालाई आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले बताए ।
गिरोहका नाइके झासहित शैलेन्द्र कुमार झा, देवेश झा, सञ्जयकुमार यादव, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सुविशदेव र सौभरकुमारलाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको हो । उनीहरुको बयान अहिले भइरहेको र त्यसबाट आईओएमका केही व्यक्तिहरुको समेत संलग्नता खुल्न सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
त्यस्तैै २ जना ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई भारतीय नागरिकद्वय शिक्षा ऐअनुसार कारबाही प्र्रक्रिया अघि बढाइएको छ । उनीहरू विरुद्ध किर्ते मुद्दा दर्ता गरी कारबाही प्र्रक्रिया अघि बढाइएको काठमाडौं परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।





























प्रतिक्रिया