कञ्चनपुर, ७, असोज
मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ । नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२ दिनमै ओछ्यानमै सुतेको अवस्थामा छाडी परपुरुषसँग भागेपछि हजुरआमा ,बुबाको जिम्मामा उनी छन् । नरेन्द्र हाल १० महिनाका भए तर उनको जन्मदादेखि नै मलद्वार नहुँदा बायाँ पेट चिरेर वैकल्पिक मलद्वार बनाइएको छ ।
गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मेको २४ घण्टापछि मात्रै उनको मलद्वार बन्द भएको परिवारजनले थाहा पाएका थिए । बान्ता गर्न थालेपछि उनलाई भारतीय सहरको अस्पतालमा लगेर जाँच गर्दा मलद्वार नभएको थाहा पाएको बाजे मोहनलाल सुनारले बताए । मलद्वार नहँुँदा उपचार गराउनका लागि नरेन्द्रका बाजे,बज्यैले भएको जायजेथा बेचेर दुई लाख भन्दा बढी खर्च गरिसकेका छन् । अझै भारतको बरेलीस्थित एक अस्पतालले तीन लाख भारतीय रुपैयाँ खर्च लाग्ने भनेपछि खर्च जुटाउन नसक्दा अप्ठेरोमा परेको छु मोहनले भने “नरेन्द्रलाई बचाउन भएभरको जग्गाजमिन पनि गयो । अब कसरी औषधि गर्ने हो भन्ने चिन्ताले सताएको छ ।” आर्थिक अवस्था निकै नाजुक भएकाले सहयोगी हातको खोजीमा रहेको उनले गुनासो गरे । बालकको भविष्यलाई लिएर उनका बाजे,बाज्यै चिन्तित भएका छन् । महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले समेत बालकको शल्यक्रियाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।
रासस





























प्रतिक्रिया