केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ असोज ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले मदिरामा प्रयोग गर्ने अन्तःशुल्क स्टिकर अवैध रूपमा ल्याएको घटनामा संलग्न थप दुईजनालाई पक्राउ गरेको छ ।
हरिओम ट्रेडिङ प्रा.लि.का नाममा भारतबाट आयात गरिएको ८६ हजार ४ सय ७० थान नक्कली अन्तःशुल्क स्टिकर बरामद भएको घटनामा हिमालयन कार्गोका संचालक विनोदकुमार गुप्तासहित दुईजनाको संलग्नता देखिएकाले उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजले जनाएको छ ।
घटनामा हिमालयन कार्गोका संचालक गुप्ताको संलग्नता देखिएकोले उनलाई गत बिहीबार काठमाडौ महानगरपालिका वडा नं १४ कुलेश्वरबाट पक्राउ गरी गत सोमबार आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पठाइएको थियो ।
गुप्ताकै बयानको आधारमा उक्त घटनामा संलग्न धादिङ धुनीबेशी–३ बस्ने राजकुमार भण्डारीलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
भण्डारीलाई काठमाडौ महानगरपालिका वडा नं ६ बौद्धबाट पक्राउ गरी बिहीबार कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पठाइएको शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हरिओम ट्रेडिङ प्रा.लि.का नाममा भारतबाट आयात गरिएको ८६,४७० थान नक्कली अन्तःशुल्क स्टिकर वीरगञ्ज भन्सार कार्यालयमा बरामद भएको घटनामा संलग्न हरिओम ट्रेडिङ प्रा.लि.का संचालक कुलप्रसाद राजभण्डारी र उनका सहयोगी प्रकाश घिमिरेलाई आन्तरिक राजस्व विभाग अन्तःशुल्क महाशाखा लाजिम्पाटको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले भदौ २० गते पक्राउ गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पठाएको थियो ।





























प्रतिक्रिया