जाजरकोट, २५ भदौ
स्कटल्याण्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन् । ‘प्रोजेक्ट ट्रस्ट युके’ बाट स्वयंसेवकका रूपमा उनीहरू एक वर्षका लागि आएका हुन् । उक्त संस्थाले ‘ए’ लेभल उत्तीर्ण विद्यार्थीबाट आवेदन लिएर नेपाल, भारत, म्यानमार, दक्षिण अमेरिका, अफ्रिका, मलेसिया लगायत ३६ देशमा ३०० स्वयंसेवक खटाउने गरेको छ । ट्रस्ट युकेले बेलायत र फ्रान्सका स्वयंसेवकलाई शिक्षण, खेलकुद र समाजसेवामा खटाउने गरेको हो ।
ट्रस्टले नेपालमा अंग्रेजीमा कमजोर भएका दुर्गमका विद्यालयमा यस्ता स्वयंसेवीलाई खटाएको छ । चार वर्षदेखि बागलुङ, रुकुम, म्याग्दी, प्यूठान र मुस्ताङका विद्यालयमा स्वयंसेवी शिक्षक पठाउँदै आएको उक्त संस्थाले यस वर्षदेखि जाजरकोटमा पनि सेवा शुरु गरेको हो । संस्थाको सहयोगमा नेपालका ६ जिल्लाका १२ विद्यालयमा २४ स्वयंसेवी शिक्षक पुगेका छन् । स्वयंसेवकले विद्यार्थीलाई अंग्रेजी विषयको गुणस्तर वृद्धिमा विशेष जोड दिने प्रोजेक्ट ट्रस्ट युकेका नेपाल प्रतिनिधि डा. शान्तराज शर्मा न्यौपानेले बताए । स्वयंसेवी शिक्षकका रूपमा गएका अन्य जिल्लाका विद्यालयको शैक्षिक गुणस्तरमा निकै सुधार भएकाले अभियान प्रभावकारी भएको डा. न्यौपानेको ठम्याइ छ । शिक्षा मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । स्वयंसेवकले त्रिभुवन माविमा ६ देखि ८ कक्षा सम्म अंग्रेजीका साथै गणित, विज्ञान र कम्प्युटर विषय अध्यापनमा सहयोग पु¥याउने छ ।
रासस































प्रतिक्रिया