सप्तरी, २३ भदौ
असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिए लगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षा तर्फ केन्द्रित भएको छ । यसै क्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि जिल्लाका २९५ मतदानस्थललाई दुई तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि २०७ मतदानस्थललाई अति संवेदनशील र ८८ मतदानस्थललाई संवेदनशील भन्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको हो ।
अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सबै मतदानस्थलको भ्रमण, पछिल्ला घटनाक्रम र सुरक्षा चुनौती विश्लेषणपछि सुरक्षा व्यवस्था सोही अनुसार गरिएको बताए । नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेना समेत निर्वाचन सुरक्षामा खटिने उनले जानकारी दिएका छन् । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले चार हजार प्रहरी र अधिकारीलाई आवश्यक उपकरण र हातहतियार सहित निर्वाचनस्थल र क्षेत्रमा खटाउने तयारी गरिसकेको छ ।
आवश्यक परे छिमेकी सुनसरी, मोरङ, झापा लगायतका जिल्लाबाट समेत थप प्रहरी झिकाउने योजना समेत बनिसकेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए , बहिष्कारको पक्षमा रहेका सिके राउत र अघिल्लो दिन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जयकृष्ण गोइतले विज्ञप्ति मार्फत निर्वाचन बिथोल्ने र उम्मेदवारलाई जनकारबाही गर्न दिएको चेतावनीलाई पनि सुरक्षा चुनौतीका रुपमा लिँदै प्रहरीले विशेष योजना बनाएको छ । यता जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । उनले जिल्लाका १८ स्थानीय तहको ८५६ पदका लागि हुने निर्वाचनका लागि जिल्लामा २९५ मतदानस्थलको चयन गरी आवश्यक सम्पूर्ण कार्य अघि बढिसकेको जानकारी दिए । सप्तरी जिल्लामा एक लाख ७० हजार ४५५ पुरुष तथा एक लाख ६० हजार ६८६ महिला गरी कुल तीन लाख ३१ हजार ४६२ मतदाता छन् । रासस





























प्रतिक्रिया