भारतमा पहिलोपटक महिला रक्षा मन्त्री

भारतमा पहिलोपटक महिला रक्षा मन्त्री

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ भदौ ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । यस क्रममा उनकै मन्त्रिमण्डलमा वाणिज्य मन्त्री रहेकी निर्मला सीतारमणलाई देशको नयाँ रक्षा मन्त्री बनाइएको छ ।

तत्कालीन समयमा इन्दिरा गान्धी प्रधानमन्त्री भएको बेला रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफूसितै राखेकी थिइन् । तसर्थ इन्दिरा गान्धीको प्रसंग एकातिर राख्ने हो भने निर्मला सीतारमण भारतकी त्यस्ती प्रथम महिला हुन् जसलाई स्वतन्त्र किसिमले रक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिइएको छ ।

अमेरिकामा भिजासम्बन्धी नियमहरूमा कठोरता अपनाउन थालिएको सन्दर्भमा भारतीय कम्पनीहरू, खासगरी आइटी सेवाप्रदायक कम्पनीहरू, प्रभावित भइरहेको कुरादेखि लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको चिन्ताका कुराहरूलाई प्रभावशाली तरिकाले उठाउने गर्दै आएकी निर्मला सीतारमणले आजै रक्षा मन्त्रीका रूपमा सपथ लिएकी हुन् ।

आन्ध्र प्रदेशमा बसोबास भएकी निर्मला सीतारमणले यसअघिसम्म वाणिज्य एवम् उद्योग मन्त्री थिइन् । त्यसअघि उनले वित्त एवम् कर्पोरेट मामिलासम्बन्धी राज्य मन्त्री पनि थिइन् ।

सन् २००६ देखि भारतीय जनता पार्टीसित जोडिएकी निर्मला भाजपाकी प्रवक्तासमेत रहिसकेकी हुन् । प्रवक्ताका रूपमा उनले विभिन्न मिडिया मञ्चहरूमा आफ्नो पार्टीका नीतिहरूको प्रचारप्रसार एवम् बचाउ प्रभावशाली ढंगले गरेकी थिइन् । रोचक के थियो भने प्रवक्ताका रूपमा निर्मला दिल्लीको दाँजोमा गुजरातमा अत्यन्तै लोकप्रिय थिइन् ।

सन् २०१४ मा लोकसभा चुनावका बेला भाजपा प्रवक्ताका रूपमा निर्मलाले ‘प्रधानमन्त्री पदका लागि मोदी’ भन्ने पार्टी सन्देशलाई निकै प्रभावशाली तरिकाबाट प्रचार गरेकी थिइन् । उन पहिले आन्ध्रप्रदेशबाट र पछि कर्नाटकबाट राज्यसभाका लागि निर्वाचित भएकी थिइन् ।

१८ अगस्त १९५९ मा तमिलनाडुको मदुराईमा जन्मेकी निर्मलाले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी छन् । त्यसपछि उनले ‘जिएटिटीको परिधिमा भारत युरोपेली कपडा व्यापार’ शीर्षकमा पिएचडी र एमफिलको डिग्री हासिल गरेकी हुन् । अत्यन्त सरल स्वभावकी निर्मलाको रोजाइको विषय भने ‘वैश्वीकरण र विकासशील देशहरूमा त्यसको असर’ थियो ।

सन् १९८६ मा निर्मलाको विवाह परकाला प्रभाकरसित भयो र यो जोडी लन्डन हानियो । त्यहाँ निर्मलाले प्राइज वाटर हाउस कूपर्समा सिनयिर म्यानेजरको रूपमा काम गर्दै बिबिसी वर्ल्ड सर्भिसमा पनि काम गरिन् ।

सन् १९९१ मा निर्मला र उनका पति भारत फर्किए । हैदराबादमा संचालित प्रणव स्कुलकी संस्थापक सदस्य निर्मला सन् २००३ देखि २००५ सम्म राष्ट्रिय महिला आयोगको सदस्यका रूपमा सक्रिय थिइन् ।

अब रक्षा मन्त्रीका रूपमा निर्मला सीतारमणका सामु अनेक मोर्चामा चुनौतीहरू छन् । जम्मु कश्मीरमा पाकिस्तानद्वारा लगातार सिजफायर उल्लघंनका घटनाहरू भइरहँदा सुरक्षाको चिन्ता व्यक्त गरिँदै छ भने डोकलाम विवादको अस्थायी हल निस्केको भए पनि चीन–भारत तनावको चिन्ता अर्को ठाउँमा छ । यसबाहेक आतंकवाद, सेनाको आधुनिकीकरण, हतियार खरिद, राफेल डिल आदि जस्ता अनेक मुद्दामा निर्मला सीतारमणको नेतृत्व क्षमताको परीक्षा हुनेछ ।

नयाँ मन्त्रिमण्डल विस्तारमा पियुष गोयललाई रेल मन्त्रालयको जिम्मेवारी दिइएको छ । उमा भारतीलाई पेयजल एवम् स्वच्छता मन्त्रालय दिइएको छ । धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालयका साथै कौशल विकास मन्त्रलाय सुम्पिइएको छ । सुष्मा स्वराज पराराष्ट्र मन्त्रीमा यथावत् छन् । अब २७ क्याबिनेट मन्त्रीसहित मोदी मन्त्रिमण्डल ७६ सदस्यीय भएको छ ।  (एजेन्सीको सहयोगमा)

Logo