‘कुनै पनि व्यक्ति त्यो युगको नायक हुन्छ’: साहित्यकार धरावासी 

‘कुनै पनि व्यक्ति त्यो युगको नायक हुन्छ’: साहित्यकार धरावासी 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु । काठमाडौं, १३ भदौ ।

कृष्ण धराबासी साहित्यका पारखीहरूका लागि कुनै नयाँ नाम होइन । पाण्डुलिपी, आधाबाटो, राधा, झोला लगायतका दुई दर्जनभन्दा धेरै सफल कृति साहित्यलाई दिइसकेका धरावासी पूर्वी नेपालको पाँचथर जिल्लामा वि.सं. २०१७ सालमा जन्मिएका हुन् । केन्द्रबिन्दुका लागि ज्ञानमणि नेपाल कालोटोपीले धरावासीसँग साहित्यक्षेत्रका विविध आयाम र देशको पछिल्लो अवस्थामा केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंश–

तपाईंको साहित्य लेखन सुरुआत कसरी भयो ?

सुरुकै कुरा गर्ने हो भने त २०२८ सालमा विद्यालयस्तरीय पढाइका क्रममा शिक्षकले मलाई कविता लेखेर ल्याउ भन्नुहुन्थ्यो । म कविता लेख्न जान्दैनथेँ । शिक्षकको नजरमा कमजोर देखिनु पनि त भएन ! त्यसैले निरन्तर एक वर्षसम्म मैले साहित्यकार कृष्णप्रसाद पराजुलीका कविता सारेर स्कुल लैजान थालेँ । सबैको वाहवाही पाइयो । तर यो राम्रो कुरा पनि थिएन जुन मलाई मात्र थाहा थियो  । सधैँ यसरी चल्न सक्ने अवस्था त थिएन । अनि सोचेँ– कहिलेसम्म अरुको रचना सार्नु ? विस्तारै लेख्न थालेँ । त्यो लेखाइले विश्राम लिन मान्दै मानेन । र, आज यो अवस्थामा छु ।

पहिलो रचना ०३२ सालमा एउटा पत्रिकामा छापियो । पुस्तकका रूपमा चाहिँ ०४८ सालमा ‘बालक हराएको सूचना’ भन्ने शीर्षकमा निबन्ध–संग्रह बजारमा आएको हो ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

भर्खरै मेरो २८औं कृतिका रूपमा ‘तल्लो बाटो’ उपन्यास प्रकाशित भएको छ । त्यसकै प्रचार–प्रसारमा व्यस्त छु । 

त्यतिबेलाको साहित्य लेखन र अहिलेको साहित्य लेखनमा के भिन्नता पाउनुभएको छ ?

समयअनुसार प्रविधिले गर्दा अहिले धेरै सजिलो छ । तर यसो भनेर त्यतिबेला त्यति धेरै कठिन पनि थिएन । लेख्नेहरूले लेखिरहेकै थिए । यति हो कि अहिले जस्तो सजिला मिडियाहरू र प्रकाशनहरू थिएनन् । आफ्ना रचनाहरू मिडियामा प्रकाशन गर्नु पर्यो भने महिनौंसम्म कुर्नुपर्ने अवस्था थियो । तर अहिले त्यस्तो छैन । धेरै संचार माध्यमले गर्दा सजिलो भएको छ । 

साहित्यका कुन–कुन विधामा तपाईंको कलम चलेको छ ? 

कविता, कथा, उपन्यास, नियात्रा, समालोचना, जीवनी र निबन्धलगायतका विधामा कलम चलाएको छु । पढ्न जस्तो लेख्न त पक्कै सजिलो हुँदैन ।

एउटा लेखक साँच्चै कै लेखक हुनका लागि उसले आफूमा के–के गर्नु आवश्यक छ ? आफ्नो अनुभव बताइदिनुस् न । 

हो, हामी पढ्छौं । पढ्दा रमाइलो लाग्छ । त्यो रचनालाई पढ्न सक्ने बनाउन एउटा लेखकले कति मिहिनेत गरेको छ भन्ने कुरा बुझ्नका लागि पढ्ने मान्छे पनि गहिराइमा पुग्नै पर्छ । एउटा कृषकले कति दुःख गरेर कृषि उत्पादन गर्छ । खाने मान्छेले किनेर सजिलै खाइदिन्छ । उसले धुलो, हिलो र पसिनाको अनुभव गर्दैन । लेखक र पाठक पनि त्यस्तै हो । यसो भनेर पाठकलाई हेप्न खोजेको चाहिँ हुँदै होइन । सबै मान्छे लेखक हुन सक्दैनन् । यो यथार्थ पनि हो । म लेखक पनि हुँ, पाठक पनि हुँ । लेखक हुनलाई लेखकीय शक्ति पनि चाहिँदो रहेछ । मैले दुवै कुराको अनुभव लिएको छु । 

त्यसो भए लेखनको के जादु छ तपाईंसँग जसले एउटा सामान्य नागरिक कृष्ण भट्टराईलाई एक वरिष्ठ साहित्यकार कृष्ण धरावासी बनायो ?

तपाईंको प्रश्नले धेरै कुराको अपेक्षा गरेको छ । यसको मतलब यहाँले मैले साहित्य लेख्दा के–के दुःख पाएँ भनेर खोतल्न खोज्नुभएको हो कि जस्तो लाग्दै छ । यथार्थमा भन्दा मैले लेखकीय विषयका लागि कुनै ठाउँ वा व्यक्तिका घरतिर धाउँदै धाइन । आफूले जे भोगें त्यो अनुभव साहित्यको विषय बनाएँ । मेरो आफ्नै अनुभव समेटिएको ‘आधा बाटो’ पढ्ने धेरैलाई थाहा छ मेरो वास्तविक भोगाइ । त्यसमा मैले आफ्नो घर जलेको पीडालाई उतारेको छु । त्यति मात्र होइन, त्यसपछिका दिनहरूमा आफ्नो परिवारलाई माग्ने जस्तो व्यवहार गर्नेहरूले गर्दा थप पीडा भयो । यही पीडा र आफ्नै घर जलेको विषयलाई साहित्य लेखनतिर ढाल्ने प्रयास गरें । यसो भन्दा धेरै ठूलो कुरा गरें जस्तो लाग्न सक्छ ।

वास्तविक रूपमा भन्नु पर्दा आफ्नो घर जलेको विषय लेखेर मैले राजधानीमा अर्को घरको जग हाल्न सकें । यति मात्र होइन, हाम्रो समाजमा अहिलेसम्म पनि कति धेरै विकृतिहरू छन् । ती विकृतिहरूको पर्दाफास गर्ने हो भने पनि अझै धेरै कृतिहरू साहित्यले पाउन सक्छ । मेरो ‘झोला’ कथा पनि त्यस्तै विषय हो । यसमा तत्कालीन समाजमा विद्यमान सती प्रथाको झल्को देख्न सकिन्छ । मैले भन्न खोजेको कुरा के हो भने आफ्नै भोगाइ र देखाइहरूलाई साहित्यमा ढाल्न सक्ने हो भने पनि जो सुकै व्यक्ति साहित्यकार बन्न सक्छ जस्तो लाग्छ । तर त्यस्तो जादु नै त मसँग केही पनि छैन ।

‘झोला’को कुरा आयो , कसरी सोच्नुभयो त्यो विषय ? तपाईंले भोग्नुभएको त थिएन नि ?

सबै भोगाइ मात्र लेखकीय विषय हुन्छ भन्नु गलत पनि हुनसक्छ । मैले इतिहास पढेको छु । इतिहासकै आधारमा पनि साहित्य लेखन हुनसक्छ । झोला पनि यस्तै विषय हो । एकपटक साहित्य प्रतियोगिताका लागि एउटा कथा दिनुपर्ने भयो । के लेखौं के भयो । मेरो बाल्यकालकै कुरा सम्झें । बुबा म सानै हुँदा बित्नुभयो । म आज जुन अवस्थामा छु आमाको योगदानको कारणले आइपुगेको हुँ ।

अनि सोचें, कुनै बेला सती जस्तो कुप्रथा पनि थियो नेपालमा । यदि यो प्रथा आजसम्म पनि कायम थियो भने त म के अवस्थामा हुन्थेँ होला ? आमा–बुबाविहीन अवस्थाको कल्पना गर्दा गर्दै झोला कथा मैले एक बसार्इंमै लेखेको हुँ । आज हामी राणाहरूले केही गरेनन् भन्छौं । तर उनीहरूले सती प्रथा र दास प्रथाको त अन्त्य गरे नि । नत्र आजसम्म कति आमाहरूले जिउँदै जल्नु पथ्र्यो होला, कति मान्छे पशु झैं किनबेच हुन्थे होला ? 

तपाईंका हरेक कृतिहरू पाठकले मन पराउनुको खास कारण के होला जस्तो लाग्छ ?

कुनै पनि व्यक्ति त्यो युगको नायक हुन्छ । यसो भनेर म यस युगको नायक हुँ भन्न खोजेको चाहिँ होइन । सकारात्मक सोच र आफूलाई समय अनुसार ढाल्ल सकियो भने म र मेरा कृतिहरू मात्र होइन, यस्तै हजारौं कृति पनि समय अनुसारका पाठकले रुचाउँछन् । आज हामी भानुभक्त आचार्यका कृतिहरू पढ्छौं, ती त्यतिबेला निकै चर्चामा थिए र छन् अहिले पनि । त्यो समयको माग थियो । अहिले मेरा पुस्तकहरूलाई पाठकहरूले मन पराए भनेर पछिसम्म पनि यो कायम हुनसक्छ, र हुनै पर्छ भन्ने होइन । पछिल्लो पुस्ताका पाठकले अरू नै विषय पनि रोज्न सक्छन् । मेरा पुस्तक पाठकले रुचाएनन् भनेर म खिन्न भएँ भने त्यो मूर्खता हुन्छ । कुनै समय अरूलाई माया गरेका पाठकले अहिले मलाई माया गरिरहेका छन् । भोलि अरूलाई पनि माया गर्न सक्छन् । यो स्वभाविक पनि हो । समय अनुसार पाठक पनि परिर्वतन हुँदै जान्छन् । जानु पनि पर्छ । सायद अहिलेका पाठकहरूले मैले लेखेकै जस्तो विषय खोजेका थिए होलान्, त्यसैले मेरा पुस्तकहरू बढी मन पराएका हुन् कि जस्तो लाग्छ ।

अहिलेको प्रविधिको युगलाई यहाँले कसरी हेर्नुभएको छ ? 

हुन त समयले हरेक कुरालाई जन्म दिन्छ । प्रविधि पनि त्यस्तै हो । आज हामी सामाजिक सञ्जालको कुरा गर्छौं । इमेल र अन्य विद्युतीय संचार माध्ययमको कुरा गर्छौं । यी सबै समयको माग हो नि । यी नभए पनि त त्यतिबेलाका मानिसहरूले दैनिकी त चलाइरहेकै थिए । तर अहिले यी विषय अनिवार्य जस्तै भइसकेका छन् । दोस्रो विश्वयुद्धमा भएको मानवीय क्षतिले यति धेरै प्रविधिको विकास भएको हो जस्तो लाग्छ । यसले गर्दा आज हामीलाई धेरै सजिलो भएको छ । 

साहित्यभन्दा बाहिरको कुरा गर्नु पर्दा, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी हेर्नुभएको छ ? 

एकातिर यो सबै केही व्यक्तिहरूका सीमित स्वार्थले गर्दा भएको हो कि जस्तो लाग्छ । अर्कातिर हामी धेरै परनिर्भर पनि भयौं । यसले गर्दा आफ्ना लागि केही गर्न पनि अरूले गरिदिए हुन्थ्यो भनेर सोच्नतिर लाग्यौं । आफ्नै देशमा भएका वस्तुहरूको पनि सदुपयोग गर्न सकेनौं । यस्तो अवस्था विगतमा पनि हामीले भोगिसकेका थियौं तर त्यसबाट पाठ सिक्न सकेनौं । अहिलेको पुस्ताले यसबाट पाठ सिकेर अब पहिले जस्तो परनिर्भरता हटाउन सक्यौं भने आगामी दिनहरूमा यस्ता समस्याहरूबाट मुक्त हुन सक्छौं जस्तो लाग्छ । समयअनुसार आएका परिर्वतनलाई आत्मसात् गर्ने यो एउटा सकारात्मक अवसर पनि हो । 

समय र संवादका लागि यहाँलाई धन्यवाद ।

पाठक सामु मेरा भनाइहरू पुर्याउने अवसर दिनुभएकोमा तपाईंलाई पनि धन्यवाद ।

Skip This
Skip This
Logo