केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ भदौ ।
तीजका दिन मध्यान्ह पशुपति क्षेत्रमा एउटा अनौठो दृश्य देखियो ।
एउटी अर्धनग्न महिला पल्टिँदै पशुपतिनाथको दर्शन गर्न आउँदै थिइन् । १२ बजेको टन्टलापुर घाममा, संभवतः निराहार ती महिला यसरी घिसिँ्रदै–पल्टिँदै आएको दृश्यले जो कोहीलाई अचम्मित पारिरहेको थियो ।
त्यसो त यो दृश्य धेरै अस्वभाविक थिएन । किनभने यसरी घिस्रिनेहरू यस अघिका तीजमा र अन्य समयमा पनि यदाकदा देखिन्थे । घिस्रिरहेकी महिलालाई ढुंगा आदि हटाएर सहयोग गर्ने केही सहयोगी पनि साथै देखिन्थे ।
अचानक ती घिस्रिरहेकी महिलाको छेउमा कोही अपरिचित मानिस आउन लागेकै बेला अर्की एक महिला नागिन अवतारमा प्रकट भइन् । अबको दृश्य चाहिँ रोमांचक र डरलाग्दो देखिएको थियो ।
ती नागिन अवतारधारी महिला त्यहाँ घिस्रिरहेकी महिलालाई सजिलो पार्ने भावभंगीमा देखिए जस्तो उपस्थित सबैलाई महसुस भयो । ती नागिन अवतारधारी महिलाले सर्वसाधारणदेखि अन्य बाबाहरूलाई समेत ती घिस्रिरहेकी महिलाको नजिक जानबाट रोकिरहेकी थिइन् । यस्तो लाग्थ्यो, उनी पौराणिक कथामा वर्णित असली नागिन हुन् ।
अझ अनौठो त देखियो भने केही समयपछि ‘ती महिलाहरू को हुन् र कहाँबाट आएका हुन्’ भनेर केन्द्रबिन्दु टिमले बुझ्ने प्रयास गर्दा ती दुवै महिला भेटिएनन्, देखिएनन् ।
उनीहरूका बारेमा जानकारी राख्ने कोही एकजना मानिस पनि त्यो भीडमा फेला परेन । ती दुवै महिला पशुपति क्षेत्रमै थिएनन् ।
उनीहरू तीजको रंगरमाइलो राताम्मे भीडमा कतै अदृश्य भइसकेका थिए ।































प्रतिक्रिया