टर्ने भो लोडसेडिङ, भारतबाट थप १५० मेगावाट बिजुली आउँदै

टर्ने भो लोडसेडिङ, भारतबाट थप १५० मेगावाट बिजुली आउँदै

केन्द्रबिन्दु
0
Shares

उँदमा लोडसेडिङको खतरा टार्न प्राधिकरणको पहल –

भारतबाट थप विद्युत् आयातको बाटो खुलेपछि यसपालिको हिउँदमा लोडसेडिङको सम्भावना टरेको छ । तीन दिनदेखि भारतको नयाँदिल्लीमा जारी नेपाल–भारत पावर एक्सचेन्ज कमिटी बैठकमा भारतबाट थप दुई प्रसारण लाइन हुँदै विद्युत् आयातको सहमति भएको हो । आजको नयाँ पत्रिका दैनिकमा उमेश पौडेलको समाचार छ । 

नेपाल–भारतबीच रक्सौल–परवानीपुर र कटैया–कुशाहा १३२ केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन सुचारु गर्ने सहमति बैठकमा भएको छ । ती प्रसारण लाइन सुचारु भएपछि प्राधिकरणले त्यसमार्फत पुनः विद्युत् आयात गर्नेछ । ‘दुई महिनाभित्र यो प्रसारण लाइनमा विद्युत् चार्ज गर्ने सहमति भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिल्लीबाट नयाँ पत्रिकासँग भने, ‘यसअघि खरिदको दर नमिलेका कारण ती प्रसारण लाइनमा चार्ज हुन सकेको थिएन, नेपाल–भारतबीच विद्युत्को खरिद दरमा समेत सहमति भएको छ ।’

‘टेक एन्ड पे’को सर्तबमोजिम यी दुईवटा प्रसारण लाइनबाट विद्युत् खरिद गर्न सहमति भएको हो । दुवै प्रसारण लाइनबाट ५०–५० मेगावाटसम्म बिजुली आयात गर्न सकिने अधिकारीले बताए ।

हाल भारतबाट २ सय ५० मेगावाट बिजुली आयात भइरहेकोमा अब थप १ सय ५० मेगावाट बिजुली आयात गर्न सकिने अधिकारीले जानकारी दिए । ‘मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनको अपग्रेडिङको काम पनि अगाडि बढिरहेका कारण अब ४ सय मेगावाट बिजुली आयात गर्न कुनै समस्या छैन,’ अधिकारीले बताए ।

कमिटीमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व गरेका छन् भने ‘सेन्ट्रल इलेक्ट्रिसिटी बोर्ड’का अध्यक्षले भारतीय पक्षको नेतृत्व गरेका छन् । दुई देशको संयुक्त बैठकमा बिहार र उत्तर प्रदेश सरकारका सरकारी अधिकारीहरू पनि सामेल भएको प्राधिकरणका प्रवक्ता अधिकारीले बताए ।

विद्युत खरिद दरमा सहमति 
भारतको दुई राज्यबाट आयात हुने बिजुलीको दर यसअघि फरकफरक रहेकोमा अब समान मूल्यमा आयात हुने भएको छ । यसअघि भारतको बिहार र उत्तर प्रदेशबाट दुईवटा मूल्यमा विद्युत् आयात हुँदै आएको थियो । पावर एक्सचेन्ज कमिटीले नेपालले समान मूल्यमा विद्युत् खरिद गर्ने विषयमा बुधबार टुंगो लगाएको हो । अब समान क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को खरिद दर समान हुने छ ।

भारतबाट अहिलेको भन्दा कम मूल्यमा विद्युत् आयातको व्यवस्था गर्न पनि प्राधिकरण सफल भएको छ । यसअघि प्रत्येक वर्ष ५ प्रतिशतका दरले बिजुलीको मूल्य बढ्ने सम्झौता थियो । कमिटी भारतले राखेको पुरानो पावर एक्सचेन्ज रेट बढाउनुपर्ने मागलाई हटाएर नयाँ मूल्यसूची बनाउन सफल भएको हो । विद्युत्को मूल्य बर्सेनि तलमाथि हुने भएका कारण यो दर सन् २०१८ को मार्च महिनासम्म मात्र लागु हुनेछ । ५ वर्षयता यो समितिको बैठक बस्न नसक्दा बिजुलीको मूल्यमा समायोजन गर्न सकिएको थिएन भने बर्सेनि मूल्य बढिरहेको थियो । भोलिसम्म बैठक रहेका कारण बैठक सकिएपछि मात्र दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गर्ने अधिकारीले बताए ।

पाँच ठाउँबाट ३३ र १३२ केभिएका नयाँ प्रसारण लाइन
जारी नेपाल–भारत पावर एक्सचेन्ज कमिटीको बैठकमा दुवै देश जोड्ने पाँचवटा नयाँ प्रसारण लाइनको निर्माण गर्ने सहमति भएको छ । भैरहवा नैतनुवा, नेपालगन्ज नामपारा र घनगढी बेलियामा १३२ केभिए क्षमताका तीनवटा प्रसारण लाइन निर्माण गर्न दुवै पक्ष सहमत भएका छन् । त्यस्तै नेपालगन्ज र भैरहवा नाकाबाट पनि ३३ केभिए क्षमताका दुईवटा प्रसारण लाइनको निर्माण गर्ने सहमति भएको प्रवक्ता अधिकारीले बताए । यो प्रस्तावलाई नेपाल–भारत सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी)मा सिफारिस गरिने प्रवक्ता अधिकारीले बताए । जेएससीको मिटिङ ६ महिनाभित्रै गर्ने तयारी भइरहेको छ ।

इनर्जी बैंकिङ 
भारतीय अधिकारीहरूसँग यसपटकको बैठकमा इनर्जी बैंकिङको अवधारणामा पनि छलफल भएको छ । वर्षात्को समयमा नेपालमा धेरै भएको बिजुली भारतलाई बिक्री गर्ने र हिउँदमा नेपालमा अभाव भएको समयमा उही मूल्यमा भारतबाट खरिद गर्ने किसिमको छलफल भएको अधिकारीले जानकारी दिए । कमिटीमा भएको इनर्जी बैंकिङको अवधारणालाई ज्वाइन्ट स्टेरिङ कमिटीले अझ बृहत् रूपमा छलफल गरेर टुंगो लागाउने अधिकारीले जानकारी दिए ।

 

Logo