विभाजनका ७० वर्ष र ७ तस्विर , जसले दर्शाउँछ मानवीय बर्बरता

विभाजनका ७० वर्ष र ७ तस्विर , जसले दर्शाउँछ मानवीय बर्बरता

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : भारत र पाकिस्तानबीच विभाजनको रेखा कोरिएको ७० वर्ष पु्ग्नै लाग्यो । अगस्ट १५ मा भारतले स्वतन्त्रताकाे झन्ड फहराएको थियो। पाकिस्तानले अगस्त १४ लाई स्वतन्त्रता दिवस मनाउँदै अाएको छ । 

हिन्दु,मुसलमान, शिख र क्रिस्चियनहरुले एक भएर तत्कालीन भारतबाट अंग्रेजलाई धपाउन स्वतन्त्रताको लडाँइ लडेका थिए। तर जब भारत स्वतन्त्र भयो । त्यसपछि स्वतन्त्रताका लागि लड्ने १ करोडभन्दा धेरै जनसंख्या आफ्नो थातथलो छाडेर निर्वासित हुनुपर्‍यो ।

हिन्दुस्तान र पाकिस्तानका नाममा मुलुक विभाजन भएपछि हिन्दुस्तानमा रहेका थुप्रै मुसलमानहरु आफ्नो जन्मथलो सरेर पाकिस्तान गए । पाकिस्तानमा रहेका अधिका‌ंश हिन्दु समुदाय भारत आउन बाध्य भए । विश्व इतिहासमै बसाई-सराईको त्यो सबैभन्दा ठूलो घटना थियो । 

यसक्रममा हिन्दु- मुसलमानबीच द‌ंगा भड्कँदा लाखौंको ज्यान गयो । पञ्जाब, बंगाल लगायतका राज्यमा कहिले लाहोरबाट आउने ट्रेन हिन्दुहरुको लाशले मरिएको हुन्थ्यो । दिल्लीबाट जाने ट्रेन मुसलमानहरुको लाशले मरिएको हुन्थ्यो । स्वतन्त्रताको समयमा देखिएको यस्तो बर्बरतापूर्ण घटनाका साक्षीहरु अहिले पनि अगस्ट महिनालाई संझन चाहन्नन् । 

विभाजनको ७० वर्ष पुग्नै लाग्दा बीबीसीले ७० वर्षअघिको घटनाका साक्षीहरुसँग कुराकानी गरेको छ । उनीहरु त्यसमध्ये ७ जनाको अनुभव : 

करम

म भारतको जालन्दरबाट बेलायत आएको हुँ। विभाजनअघि हामी हिन्दू, शिख र मुसलमान एउटै परिवार जसरी बसेका थियौँ। हामीमध्ये कसैलाई पनि लागेको थियो, स्वतन्त्रतापछि भारत विभाजन हुन्छ। मलाई अझै पनि यो घटना संझदा अचम्म लाग्छ, कसरी मानिसहरू दिमाग चाँडै परिवर्तन भयो। हाम्रो गाउँमा बाहिरबाट आएका मुसलमानहरू आक्रमण गरे। यो पाखुरामा सुइरो रोपिएको थियो। म मरणासन्न थिए। मेरी बहिनीलाई एउटा मुस्लिम परिवारले जोगायो। उनलाई उनीहरूले आफ्नो घरमा लुकाएका थिए। तर मेरा बाबु मारिए। त्यो घटनाको असर मलाई अहिले पनि यतिसम्म परेको छ। कहिलेकाहीँ सपनामा त्यही बर्बरता देख्छु।

मोहिन्द

लयलपुर (अहिलेको फैसलावाद) बाट म दिल्ली आउँदै थिएँ। मेरो घर छाडेर आउँदाको कथा हो यो। मेरा बाबु कहिल्यै घर छाड्न चाहँदैन थिए। उनले त्यो ठाउँलाई धेरै माया गरे। मलाई १३ सेप्टेम्बर १९४७ को याद आउँछ। त्यो मेरो छैटौँ जन्मदिन थियो। हामीले पाकिस्तानस्थित हाम्रो घर छाड्यौँ। त्यसपछि ४० किलोमिटर हिँडेर भारतका लागि ट्रेन पक्रियौँ। ट्रेनमा रहेका मानिसहरू काटिएका थिए। रगतै रगत थियो ।

 

पेमला

म कोलकातामा हुर्किएको हुँ। त्यतिबेला भिक्टोरिया स्मारक बगैँचा धेरै रमाइलो थियो। हामीले धेरै रमाइला क्षणहरू बितायौँ। कोलकतामा जहाँ जान पनि कुनै सुरक्षाको चिन्ता थिएन। तर बिस्तारै अवस्था बिग्रियो। एक दिन म साइकल चलाइरहेको थिएँ। मलाई एक जना मान्छेले धकेल्यो र भारत छाड्न भन्यो। म सडकमा लडेँ। मेरो वरपर कार र रिक्साहरू थिए। त्यो निकै खतरनाक अवस्था थियो। म मारिन सक्ने थिएँ।

मालक्लोम

ब्रिटिश–भारतीय जातिको सन्तान भएका कारण मलाई फाइदा थियो भन्ने ठान्थेँ। मैले दुवै संस्कार चिन्ने मौका पाएको थिएँ। मलाई कहिल्यै भारत छाडेर जाने ब्रिटिशहरूका कारण मेरो जीवन खतरामा पर्छ भन्ने लागेन। तर मेरो परिवारलाई पर्‍यो। यसैकारण म इंग्ल्यान्ड आएँ। मेरो परिवारलाई के लाग्यो भने मैले स्कुल सकेपछि जागिर पाउँदिन किनकि भारतीयहरूमा बदलाभाव थियो।

ड्यन्स

म भारतीय सेनामा थिएँ। स्वतन्त्रता दिवसको दिन म लाहोर हुँदै इंग्ल्यान्ड फर्कंदै थिए। बाटामा मानिसहरूले हात मिलाएर ‘धन्यवाद हामीलाई स्वतन्त्रता दिलाएकोमा’ भनेको कुरा अहिले पनि याद आउँछ। ट्रेन स्टेशनमा लाशै लाश थिए। कुनै एक दिशाबाट आएको ट्रेनमा शिख र हिन्दूहरूको लाश हुन्थ्यो। अर्को दिशाबाट आएको ट्रेनमा मुसलमानको लाश हुन्थ्यो।

मेहरो

म स्कुल र कलेज जाने क्रममा मृत शरीरमाथि टेकेर गएको छु। हामी पर्सियनहरू सुरक्षित थियौँ। हामीसँग हिन्दू र मुसलमान नोकरहरू थिए। त्यसैले बाहिर निस्कँदा म आफ्नो पर्सियन ड्रेस लगाउँथे। यसले गर्दा मेरा नोकरहरू पनि सुरक्षित हुन्थे।

 

खुर्सिद

म दिल्ली र सिमलामा हुर्किएर विभाजनपछि पाकिस्तानको कराँची पुगेकी हुँ। विभाजनको वर्षौंअघि स्कुलमा पढ्ने शिख, हिन्दू, मुस्लिम र क्रिस्चियन बालबालिकाको एउटै स्वर हुन्थ्यो, ‘हामी स्वतन्त्रता चाहन्छौँ- भारत हाम्रो हो।’ त्यसपछि दिल्लीमा धेरै मुसलमान मारिए। हामीले के अनुभव गर्‍यो भने हामीसामु भारत छाड्नेको विकल्प छैन। हामी पाकिस्तान जान बाध्य भयौँ।

Logo