लन्डन, १६ साउन । बेलायतका राजकुमार फिलिपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिने भएको बेलायतको राजदरबारबाट जानकारी गराइएको छ ।
महारानी एलिजाबेथ द्वितीयका जीवनसँगी ९६ वर्षीय फिलिप अन्तिम समयमा कुनै पनि सहयोगीविना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन् ।
द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘ड्युक अफ एडिनबर्ग’ राजकुमार फिलिप बकिङ्घम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुनेछन् । उनी बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ पनि हुन् ।
दरबारका एक प्रवक्ताले भने, “यो नै सम्भवतः राजकुमार फिलिपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ । तर उहाँले महारानीको उपस्थितिमा समय समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव पार्ने छैन ।”
बेलायतको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने राजकुमार फिलिपले यसै वर्षको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट विदा लिने गत मे महिना मै घोषणा गरेका थिए ।
उनले एलिजावेथ द्वितीयले १९५२ मा आफ्ना पिताको मृत्यु भएपछि जिम्मेवारी सम्हालेका थिए र त्यसपश्चात महारानीसँगको नाताले उनले पनि राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आएका थिए ।
उनले अवकाशपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाइसकेका छन् भने हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गरेका छन् । उनले ५ हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिएका छन् ।
राजकुमार फिलिप आफ्नो उमेरका अन्य व्यक्तिको तुलनामा अझै स्वस्थ छन् । उनलाई गत जुनमा दुई रात उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि उनी के समस्याका कारण अस्पताल पुर्याइएका थिए भन्ने दरबारले सार्वजनिक गरेको छैन ।
एकानब्बे बर्सीय महारानी र राजकुमारले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै गएका छन् । उनीहरूको जिम्मेवारी जेष्ठ सुपुत्र राजकुमार चार्ल्स र नाति राजकुमार विलियमले हेर्दै आएका छन् ।
‘ड्युक अफ क्याम्ब्रिज’ राजकुमार विलियमले आफ्नो एअर एम्बुलेन्सको चालकका रूपमा जिम्मेवारी पूरा गरी गत हप्तामात्र अवकाश लिएका छन् । अहिले विलियम तथा उनकी संगिनी केटले राजदरबारका जिम्मेवारीतर्फ पूर्ण समय खर्चिदै आएका छन् । रासस/एएफपी































प्रतिक्रिया