झापा ।
संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गरेका थिए । त्यसपछि भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल र बिर्तामोडको बिएन्डसी हस्पिटलको पनि उनले अनुगमन गरे।
सांसद लिङ्देनले बिएन्डसी हस्पिटलमा उपचारका लागि आएका सर्वसाधारण र कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिए। कार्यकारी प्रमुख प्रसाईँले निजी हस्पिटलहरुले कोभिड बिरामीलाई उपचार सेवा प्रदान गरेर महामारीविरुद्धको अभियानमा ठूलो टेवा पुर्याएको बताए।
राप्रपाका पूर्वमहामन्त्री लिङ्देनले कोरोनाको बहानामा अस्पतालले उपचार नगरी बिरामी फर्काउने गरेको र त्यसकै कारण अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद् अवस्था आएको जनगुनासो आएका कारण आफू अनुगमनमा निस्किनुपरेको बताए।
कोभिड –१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीले दिएको योगदान प्रशंसनीय रहेको बताउँदै सांसद् लिङ्देनले सरकारी पक्षबाट अस्पतालको नियमित अनुगमन हुनुपर्ने सुझाव दिए।































प्रतिक्रिया