८ साउन, काठमाडौं ।
सत्तारूढ नेकपा माओवादी केन्द्रले युवा भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युताउने भएको छ । माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने निर्णयसमेत गरेको छ ।
शान्ति प्रक्रियामा आएलगत्तै लडाकुलाई शिविरमा सारिएपछि माओवादीले अर्धसैन्य दस्ताका रूपमा वाईसीएल गठन गरेको थियो । देशभरका युवालाई समेटेर संगठन निर्माण गरेलगत्तै अर्को दल एमालेले पनि यस्तै प्रकृतिको युथ फोर्स गठन गरेको थियो । दुवै संगठन अस्तित्वमा आएसँगै दुई पक्षीय भिडन्तका साथै युवा संगठनका नाममा ज्यादती बढेपछि दुवै पार्टीले आफ्ना संगठन निष्क्रिय पारेका थिए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २ साउनबाट सुरु भएर शनिबार सम्पन्न सचिवालय सदस्यहरूको बैठकले २ र ३ भदौमा वाईसीएलको सम्मेलन गर्ने र सक्रिय बनाउने निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।
नेकपा माओवादी केन्द्रले पुराना मुद्दाहरूलाई जोडतोडका साथ ब्युँझाउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न सक्रिय भएर लाग्ने निर्णय गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा जोडतोडले उठाउने निर्णय भएको छ, हेडक्वार्टर सदस्य मणि थापाले भने,‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्न सबै राजनीतिक दलहरूसँग आह्वान गर्नेे र पार्टीले यसलाई मुख्य राजनीतिक नारा बनाउने निर्णय भएको छ ।’
राजधानी दैनिकवाट































प्रतिक्रिया