केन्द्रबिन्दु बुलेटिन : वाटमोरको प्रशिक्षण सुरुदेखि कांग्रेसकाे अपिलसम्म

केन्द्रबिन्दु बुलेटिन : वाटमोरको प्रशिक्षण सुरुदेखि कांग्रेसकाे अपिलसम्म

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन केन्द्रबिन्दु बुलेटिन प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरु प्रस्तुत गरेका छौं । 

आजकाे बुलेटिनमा हामीले म्यान्मारमा सैनिक सत्ताले फेब्रअरी १ का दिन सैन्य कू गरेपछि त्यहाँको जनजीवन निकै प्रभावित भएको समाचारलाई समेटेका छौं । सैनिक सत्ताले नेत्री आङसाङ सुकीसहित थुप्रै नेतालाई नजरबन्द गर्नका साथै इन्टरनेट सेवा ठप्प बनाएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो । यसैबीच म्यानमारका मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् भने, दङ्गा प्रहरीहरूले सहरका मुख्य मार्गहरू बन्द गरिदिएका छन् । 

रश्मी घिसिङको चार गोलको सहयोगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो राउन्डमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ । पहिलो राउन्डमा आर्मीले चौदन्डीगढीलाई १२–० ले पराजित गरेको थियो । एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको दोस्रो राउन्डको पहिलो खेलमा आर्मीको फराकिलो जितमा शर्मिला थापाले दुई तथा भुजुङ्गा राई र अन्जली वाइवाले एक गोल थपिन् । खेलमा आर्मीले एक गोल भने उपहार पाएको थियो ।

साथै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको जनाएको छ । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले तयारी सुरु गरेको हो । क्यानले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको छ । क्यानले बोलाएको टिममा विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा र खडक बोहरा पहिलो पटक परेका छन् । पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् । घरेलु टिम ओमान, नेपाल र अमेरिकाबीचको सिरिज आगामी मार्चमा हुनेछ ।

नेपाल सरकारलाई भारतपछि चीन सरकारले पनि अनुदानमा कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भएको फोनवार्तालाई उद्धृत गर्दै परराष्ट्रमन्त्रालयले चीनले ५ लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको हो । 

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीको हातमा लालपूर्जा दिन सरकार आतुर रहेको बताएकी छन् । भूमीसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकार अव्यवस्थित तरिकाले बसोवास गरिरहेका प्रत्येक सुकुम्बासीहरूको हातमा पूर्जा दिन आतुर रहेको बताएकी हुन् । 

नेपाली कांग्रेसका शुभेच्छुक संस्थाले आज (शनिबार) देशभर विरोध प्रर्दशन गरेका छन् । पार्टी केन्द्रीय समितिले गरेको निर्णयअनुसार प्रतिनिधिसभा विघटनविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गरिएको हो । विरोध प्रदर्शनमा नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्था सहभागी थिए । यसैबीच गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भएको ठहर गर्दै त्यस विरुद्धको आन्दोलनमा सबैले साथ दिनु कांग्रेसले अपिल समेत गरेको छ । 

भिडियो समाचार यहाँ

 

Logo