काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको छ । शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरेका छन् । “सहीभन्दा बढी लेपन गरेर समाचारलाई बङ्ग्याइयो भने त्यसले गलत सन्देश दिन्छ”, शाक्यले भने, “व्यवसायिक हिसाबले मात्रै पत्रकारिता गर्दा वा आफ्नो रोजगारी जोगाउने उदेश्यले मात्रै गलत सन्देश दिने गरी समाचार सम्प्रेषण गरियो भने त्यसले सिङ्गो समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्न सक्छ ।”
उनले कतिपय अवस्थामा सामाजिक सञ्जाल र मिशन पत्रकारिताका नाममा समाजलाई दिग्गभ्रमित पार्ने काम भएको र त्यसको मारमा स्वयं पनि पर्ने गरेको गुनासो गरे । उनले जति धेरै गाली गर्याे त्यति धेरै चर्चामा आउने र त्यस्ता समाचारले पनि बढी स्थान पाउने भएकाले त्यस्तो अवस्थाको न्यूनिकरणतर्फ लाग्नुपर्नेमा जोड दिए । “नरम बोल्यो भने त्यो समाचारले कम प्राथमिकता पाउँछ”, शाक्य भन्छन्, “विशिष्ठ जिम्मेवारीमा रहेका व्यक्तिलाई गाली गर्न सक्यो भने त्यस्ता समाचारले बढी प्राथमिकता पाउने गरेका छन् । त्यो प्रवृत्तिलाई अलिक करेक्सन गर्नुपर्छ कि भन्ने मेरो अपेक्षा पनि हो ।”
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममै प्रमुख शाक्यले नेकपा भित्रको विवादका कारण मुलुक नै गम्भीर समस्यामा गुज्रिरहेको टिप्पणी समेत गरे । दुई अध्यक्षबीचको झगडाले आफूहरुलाई अप्ठेरो पर्ने गरेको समेत बताए ।





























प्रतिक्रिया