आजदेखि नेपालमा दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको छ ।
अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि सुरु भएको थियो ।
एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिबार सम्पन्न भइसकेको छ।
दोस्रो चरणमा कसको पालो ?
पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइएको थियो ।
सोमबारदेखि सुरु भएको दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बैंकहरु, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित गरेर सोमबारदेखि खोप लगाइने कोभिड १९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले बताए ।
यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना रहेको उनले जानकारी दिए । विभिन्न निकायहरूका निम्ति विभिन्न अस्पतालमा खोप केन्द्र तोकेर अभियान सञ्चालन हुने उनले बताए ।
उमेर समूहलाई अर्को चरणदेखि मात्र लगाइने
खासगरी पहिलो चरणमा नै करिब सवा चार लाख मानिसलाई खोप लगाउने सरकारको योजना थियो। तर त्यसको आधाभन्दा कम्तीले मात्रै खोप लगाए ।
डा उप्रेती भन्छन्, “पहिलो कारण त हामीले धेरै जिल्लामा एउटा मात्र खोप केन्द्र राखेका थियौँ जसले गर्दा धेरै महिला स्वास्थ्य स्वयंसेविकालाई पायक नपरेर छुटेको हुनसक्छ। दोस्रो कारण छोटो समयको अभियान भएकाले पनि हुनसक्छ ।”उनका अनुसार पहिलो चरणमा छुटेकाहरूले आफ्नो पालो कुर्नुपर्नेछ।
दोस्रो चरण सकिएपछि फागुनको दोस्रो साताबाट सुरु हुने भनिएको अर्को चरणबाट मात्र उमेर समूहका मानिसहरूलाई खोप दिन थालिने पनि उनले बताएका छन् । धेरै उमेरका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै धेरैले टिप्पणी गरेका छन् ।
खोप कहाँबाट आउँदै ?
अहिले नेपाल सरकारसँग भारत सरकारले अनुदानमा दिएको दश लाख मात्राको कोभिशील्डमात्र उपलब्ध छ । जसमध्ये झन्डै दुई लाख मात्रा प्रयोग भइसकेको छ। त्यसैले आगामी चरणहरूका लागि थप खोप नल्याई हुँदैन ।
त्यसका लागि दुई/तीनवटा विकल्पमा कुराकानी अगाडि बढिरहेको बताइएको छ। अन्तर्राष्ट्रिय खोप सहयोग सञ्जाल कोभ्याक्सले साढे २२ लाख मात्राको खोप नेपाललाई पठाइदिने वाचा गरेको छ ।
फेब्रुअरीको मध्यपश्चात् या मार्चको पहिलो दुई साताभित्र कोभ्याक्सले खोप पठाइदिने बुझिएको डा उप्रेतीको भनाइ छ। त्यो बाहेक आफ्नै पहलमा भारतको सिरम इन्स्टिचुटसँग बीस लाख मात्राको खोप ल्याउने प्रयास भइरहेको उनले बताए ।
गत साता नेपाल र चीनका परराष्ट्रमन्त्रीहरूसँगको कुराकानीमा चीनले पनि पाँच लाख मात्रा खोप अनुदानमा दिने बताइएको छ । तर त्यसको लागि भने नेपालको नियामक निकायबाट पहिले सो खोपको प्रयोगका निम्ति स्वीकृति हुनु जरुरी हुन्छ।
विश्वबजारमा कोभिड खोप ल्याउन खासगरी मध्यम तथा न्यून आय भएका देशहरू माझ तँछाडमछाड भइरहेको बेला नेपालले छरछिमेक तथा अन्य देश तथा विश्वस्वास्थ्य सङ्गठनजस्ता निकायसँग निरन्तर सम्वाद गरेर आफ्नो निम्ति खोपको जोहो गरिहाल्न विज्ञहरूले सुझाव दिएका छन्।
सरकारले देशको कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई प्राथमिकता तोकेर खोप लगाइदिने वाचा गरेको छ। बीबीसीबाट





























प्रतिक्रिया