केन्द्रबिन्दु बुलेटिन : ‘कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु हुँदैन’ : शशांक कोइराला (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु हुँदैन’ : शशांक कोइराला (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हरेक दिन जस्तो हामीले आज पनि मूख्य समाचार प्रस्तुत गरेका छौं । आजका मूख्य समाचार मध्ये  नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको आज छैठौँ स्मृति दिवस । उनको स्मृतीमा आज देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरियो । यसैबीच सोमबार सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा कांग्रेस नेता शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने धारणा राखे भने, नेता मिनेन्द्र रिजालले नेकपाको कुनै एक पक्षसँग कांग्रेस नलाग्ने बताए ।  

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र  गणतन्त्रको पक्षमा एकजुट हुन आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई इतिहासकै कलंकित व्यक्ति भएको आरोप पनि लगाए । यस्तै नेकपाका वरिष्ट नेता माधवकुमार नेपालले ओलीसँगको संघर्ष प्रवृत्ति विरुद्धको लडाईंका रुपमा बुझ्न आग्रह गरेका छन् ।

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । तयारीसँगै सरकारले कम्पनीसँगको समन्वयमा भारतसँगै २६ जना दक्ष प्राविधिक कर्मचारीको माग पनि गरेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार कुर्था–जयनगर रेलसेवाको उद्घाटन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री  केपी शर्मा ओली र भारत सरकारका तर्फबाट नरेन्द्रमोदीको संयुक्त रुपमा गरिने भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा विभत्स अवस्थामा भेटीएकी स्थानीय १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोष्टमार्टम रिपोर्टमा भट्टको बलात्कारपछि हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको हो । मृतक किशोरीको भेजिनल स्वाब पनि थप परिक्षणका लागि काठमाडौँ ल्याइएको छ । उक्त परिक्षणले बलात्कार एकल थियो की सामूहिक भन्नेबारे टुंगो लगाउने प्रहरीले जनाएको छ ।

भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा १८ जनाको मृत्यु भएको छ भने, सयौं मान्छे बेपत्ता भएका छन् । हिमपहिरोपछिको बाढीका कारण थुप्रै पुल, सडक तथा विद्युतगृहहरू भत्किएका छन् भने स्थानियको जनजीवन कष्टकर बनेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।

Logo