काठमाडौं ।
विगतका वर्षहरुमा नेपालीहरूको महान चार्ड दशैंतिहार नजिकिँदै गर्दा उपत्यकाका व्यापारीक केन्द्रहरुमा नयाँ लत्ता कपडादेखि विभिन्न सामान किन्ने मानिसहरुको भिडभाड धेरै हुने गरेको थियो ।
तर यो वर्ष दशैंमा पनि बजारमा किनमेल गर्नेहरुको भिड कम रहेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको तथा धेरै मानिसहरुले भएको रोजगारी पनि गुमाएर बेरोजगार बस्नु परेकाले आर्थिक अवस्था कमजोर भएको छ । त्यसैले पनि बजारमा किनमेल गर्ने मानिसहरु कम रहेका छन् ।
व्यवसायीहरुले कमाउने भनेकै दशैंको समयमा नै हो । व्यापारीक केन्द्रहरुमा ठेल मठेल भिड हुने र त्यही अनुसार व्यापार गर्न पनि व्यवसायीहरुलाई भ्याइनभ्याइ हुने गर्दथ्यो । तर मानिसको ठेलमठेल भीड गरेर किनमेल हुने तथा उपत्यकाको व्यापारीक केन्द्र मानिने महाबौद्ध, न्यूरोड, भृकुटीमण्डपमा भिडभाड र व्यापारको कुनै पनि रौनक भएन ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ६ महिना लकडाउन तथा निषेधाज्ञा हुँदा सम्पूर्ण व्यवसाय नै ठप्प भएको थियो । ६ महिनासम्म लडाउनको मारमा परेका व्यवसायीहरुले दशैंको समयमा व्यापार बढ्ने आकलन गरेका थिए तर व्यापार नहुँदा निरास भएका छन् ।
६ महिना थलिएको व्यापार दशैंमा सुधार हुने आशा थियो तर कोरोना संक्रमणदर बढ्दै गएकाले पनि केही सुधार नहुने देखिएको तथा कोरोना महामारीले गर्दा बजारमा मानिसको भीड कम भएसँगै व्यापार पनि हुन कमै रहेको न्यूरोड रन्जना मलका कपडा व्यवसायी जिरीराज खड्काले बताए ।
उनका अनुसार दशैंमा मानिसहरुको चाप बढ्दै गए पनि व्यापार भने बढ्न सकेन । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय नाका बन्द रहेको तथा चीनसँगको रसुवागढी र तातोपानी दुई नाका विगत ८ महिनादेखि बन्द रहेकाले पनि व्यवसायीहरुले खरिद गरेको सामान नाकामा नै थन्किएका छन् । खरिद गरेको सामान नाकामा थन्किदा बजारमा नयाँ सामानको अभाव छ । यसरी नयाँ सामान अभाव भएकाले दशैंमा ग्राहकहरुले खोजेको जस्तो सामान समेत पाउन सकेनन् भने व्यवसायीहरुले गत वर्षकै पुराना सामान बिक्रि गरिरहेका छन् ।
अहिले बजारमा नयाँ सामान नहुँदा बजारमा मानिसको भीड बढे पनि खरिद भनेको गतवर्षको तुलनामा ५० प्रतिशत नै कम भएको व्यवसायीहरुको भनाइ छ ।
सामान्य समयको भन्दा ५० प्रतिशतले घट्यो व्यापार
कोरोना महामारीको कारण ६ महिनासम्म शिथिल भएको व्यापार व्यवसाय करिव दुई महिनादेखि सञ्चालनमा आएका छन् । तर, दशैं आउँदा पनि विगत वर्षको तुलनामा ५० प्रतिशत पनि व्यापार नभएको व्यवसायीहरुको भनाइ छ ।
न्यूरोड मखनटोलमा रहेको सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको व्यवसायीहरुको गुनासो छ । अहिले व्यवसाय खुल्ला भएपनि तीन चार दिनमा एकपटक मात्रै बोनी हुने गरेको श्रेष्ठले बताए । दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको छ । अहिले बजारमा लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाइ छ ।
व्यापार नहुँदा व्यवसाय संकटमा
दशैंमा समेत बजारमा व्यापार नहुँदा व्यवसायीहरु व्यवसाय कसरी टिकाउने भन्ने चिन्तामा परेका छन् । सरकारले नाकामा विगत ८ महिनादेखि आएका सामान नेपाल प्रवेश गर्न पहल नगर्दा नाकामा नै सामान अड्केर बसेका छन् ।
तातोपानी नाका खुल्ला भए पनि नेपाल भित्रिने कन्टेनरका कर्मचारीमा कोरोना देखिएसँगै नेपालमा सामान भित्रिन बन्द भएको छ । कोरोनाले गर्दा करिब २० अर्बको सामान नाकामा अड्किएको हिमालपारी व्यापार संघले जनाएको छ । संघका अनुसार दशैंतिहार लक्षित सामान आउनु पर्नेमा अहिले बजारमा सामान आइनपुग्दा व्यवसायीहरु सामान बेच्न नपाउँदा व्यवसाय नै संकटमा परेको जनाएको छ ।
रसुवागढी नाकाबाट दैनिक ५ वटा कन्टेनर नेपालमा भित्रिने गरी नाका खुल्ला गरिएको छ । विगत ८ महिनादेखि १२ सय भन्दा बढी कन्टेनर नाकामा नै अड्केर बसेका थिए । सबै कन्टेनर नेपालमा भित्रिनको लागि करिव ६ महिना लाग्ने देखिएको छ ।
यसरी सामान आउन नपाउने भएपछि व्यवसायीहरुसँग भएको पुराना स्टक सामान पनि सकिन लागे पछि बेच्ने सामान पनि नहुने भएकाले सटर बन्द गरेर बस्नु पर्ने अवस्था आउने व्यवसायीहरुको गुनासो छ ।































प्रतिक्रिया