चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म कुन बैंकको नाफा कति ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म कुन बैंकको नाफा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक अर्थात् साउनदेखि पुस मसन्तासम्म वाणिज्य बैंकहरुको आम्दानीको मुनाफा सार्वजनिक गर्न थालेका छन् । २७ वटा वाणिज्य बैंकहरु मध्ये केही बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यसरी वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुले ६ महिनामा राम्रै मुनाफा आर्जन गरेका छन् । बैंकहरुका विवरण अनुसार कति बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको तथा खुद नाफा समेत घटेको देखिएको छ । अझै २७ वाणिज्य बैंकहरु मध्ये केही बैंकहरुले दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ । विवरण सार्वजनिक गर्ने बैंकहरुको नाफा तथा घाटाको विषयमा जानकारी गराउने प्रयोग गरेका छौं ।

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको यस्तो छ नाफा/घाटा

१.प्रभु बैंकको नाफा डेढ अर्ब बढी

प्रभु बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण अनुसार डेढ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षको भन्दा नाफामा बृद्धि भएको छ । बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास अवधिसम्ममा १ अर्ब ५१ करोड ८६ लाख रुपैंयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैंयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेपछि खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको १८ करोड ८२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी बढे पनि बैंकको निष्क्रिय कर्जा भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३.१२ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २.०६ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको बेस रेट ९.४५ प्रतिशतबाट ७.२४ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.८३ बाट ३.६४ प्रतिशतमा झरेको छ ।

२.नेपाल बैंकको १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि कर खर्च बढेपछि बैंकको नाफा सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको कर खर्च १३ करोड २४ लाख रुपैयाँ बढेपछि खुद नाफा घटेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैंयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२ प्रतिशत बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैंयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा १७.९६ प्रतिशत बढेर २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि ४ करोड ५१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैंयाँबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २.६६ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २.८८ प्रतिशत पुगेको छ ।

३.सनराइज बैंकको नाफा ९४ करोड ९४ लाख रुपैयाँ

सनराइज बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा झिनो दरले बढेको छ । यस बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा सामान्य सुधार देखिएको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने सामान्य घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.६९ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.०६ प्रतिशतमा झरेको छ ।

४.सानिमा बैंकको खुद नाफा ७.३८ प्रतिशत घट्यो

सानीमा बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७.३८ प्रतिशत घटेको छ । यस अवधिसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैंयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घटेसँगै बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४१ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ०.५८ प्रतिशत पुगेको छ ।

५.नेपाल बंगलादेश बैंकको नाफा साढे १६ प्रतिशतले वृद्धि

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा साढे १६ प्रतिशतले बढाएको छ । बैंकले साउनदेखि पुस मसान्तसम्म नाफा ९४ करोड १२ लाख रुपैयाँ गरेको हो । ६ महिनाको नाफा पछिल्लो तीन महिना ३७ करोड रुपैयाँ कमाएको छ भने अघिल्लो त्रैमास साउनदेखि असोजमा ५७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३५ करोडबाट घटेर एक अर्ब २४ करोडमा आएको छ ।

बैंकले कोरोना महामारी पछाडि खासै व्यापार विस्तार गर्न भने सकेको छैन । वर्ष दिनमा ५९ अर्ब १० करोडको ऋणलाई बैंकले ६० अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । निक्षेप पनि ६६ अर्ब ४३ करोडबाट ७० अर्ब ८ करोड पुगेको छ ।

६.कुमारी बैंकले ५१.४९ प्रतिशतले नाफा कमायो

कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक साउनदेखि पुस मसान्तसम्ममा नाफामा ५१.४९ प्रतिशतले वृद्धि गरि नाफामा उच्च सुधार गरेको छ । बैंकले ६ महिनामा एक अर्ब २१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ८० करोड ३० लाख रुपैयाँ नाफा रहेको थियो । चालु वर्षको ६ महिनाको नाफामध्ये पछिल्लो तीन महिना कात्तिकदेखि पुससम्ममा ६१ करोड ४० लाख रुपैयाँ छ ।

बैंकको स्प्रेडदर घटेको छ भने आधार दर पनि कम छ । एक वर्षमा करिब ४ अर्बले नयाँ व्यापार थपिएको छ । बैंकको वित्तीय विवरण अनुसार, खराब ऋण उठ्तीमा बैंकले निकै प्रगति गरेको छ । यसले पनि मुनाफामा सुधार भएको हो । बैंकको व्यापार भने एक खर्ब १० अर्बबाट एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप पनि एक खर्ब १६ अर्बबाट एक खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।

७.सिटिजन्स बैंकको खुद मुनाफा २७ प्रतिशतले वृद्धि

सिटिजन्स बैंकको चालु आर्थिकको दोस्रो त्रैमास वित्तीय विवरण अनुसार खुद मुनाफा २७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले ६ महिनामा खुद मुनाफा ८७ करोड ५१ लाख रुपैयाँ कमाएको छ । बैंकले ६ महिनाको खुद नाफा पछिल्लो तीन महिना कात्तिकदेखि पुससम्ममा ३५ करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकले गत वर्षको सो अवधिमा ३३ करोड ८५ लाख नाफा गरेको थियो । त्यस्तै गत वर्षको ६ महिनामा ६८ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी गतवर्ष एक अर्ब ४३ करोड रुपैयाँ रहेकोमा यसपाली एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकसँग सर्वसाधारणको निक्षेप एक खर्ब ४ अर्ब नाघेको छ । ऋण लगानी ८७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

८. इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्ष कोरोना महामारीकै बीचको दोस्रो त्रैमास अवधिमा नाफा घटेको छ । गत वर्षको तुलनामा घटे पनि ९६ करोड नाफा कमाएको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ७ करोड ९५ लाख ३ हजार रुपैयाँले कमी हो । बैंकको सो अवधिमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ छ ।

बैंकको गत असारको तुलनामा पुस महिनामा निक्षेपमा पनि सामान्य गिरावट देखिएको छ । गत असार ३१ गतेसम्म १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप थियो भने अहिले त्यो घटेर १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार रुपैयाँ छ । बैंकले १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा २.९० प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा सीमित भएको छ । बैंकको चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

Logo