अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालको विस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा विस्तार गर्न लागिएको निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताए । उनले वीर अस्पतालसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताए । आगामी छ महिनाभित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध हुने समेत उनले बताए । उनले सडक डिभिजन, विद्युत प्राधिकरण, खानेपानी तथा अन्य निकायका सचिव तथा सम्वन्धित न्याम्स तथा वीरका पधाधिकारीहरुलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि छ महिनाभित्र प्रगति प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए ।
अर्थमन्त्रीसँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले वीर अस्पताल जस्तो ठूलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु दिलो ज्यान भएर लागेको बताए। उनले दुवाकोटवासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गरे । विस्तारित वीर अस्पतालको कामले छिटो भन्दा छिटो थालनी पाउने उनले बताए।
चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालको लागि सरकारले न्याम्सको नाममा ५७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्यावहरु बन्नेछन् । जसका लागि सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको भएपनि चिनिया कम्पनीले भने ढल पानी विद्युत बाटो लगायत कुनै पनि भौतिक पूर्वाधार विना आफूहरु काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्षदेखि काम यतिकै थाँती रहेको थियो । स्थलगत अवलोकनमा अर्थमन्त्री , स्वास्थ्यमन्त्री , स्वास्थ्य राज्यमन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य सचिव, न्याम्सका उपकुलपति, चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय निकाय पदाधिकारीहरु पुगेका थिए ।





























प्रतिक्रिया