नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली जस्तो लोकतन्त्र विरोधी र सन्की मान्छेको निर्णयमा देशका संवैधानिक निकायले फैसला नगर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले अबको केही दिनमै सिंहदरबार घेर्न आजको जनसभाको भन्दा धेरै नागरिक काठमाडौं आउने पनि बताए । आजको नागरिकको उपस्थितीले सर्वोच्चलाई फैसला गर्न पनि सहज हुने आफ्नो विश्वास रहेको प्रचण्डले बताए ।
उनले केपी ओलीलाई क्षमा याचना गर्दै राजीनामा गरेर जनतासँग माफी माग्न पनि आग्रह गरेका छन् । आफूहरु जनताको शरणमा आएको र यसको न्याय पनि जनताले नै दिने प्रचण्डले बताए । केपी ओली ठग भएको बताउँदै प्रचण्डले नाटक नगर्न र आफ्ना कार्यकर्तालाई अपमान नगर्न पनि आग्रह गरेका छन् ।
प्रचण्डले केपी ओलीका २ जना मन्त्रीले आफ्नो समूहमा आउन आफूसँग सल्लाह गरिसकेको पनि दाबी गरेका छन् । जनताका अघि झुटा नबोल्न र नाटक नगर्न पनि उनले ओलीलाई आग्रह गरेका छन् ।
यस्तै कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले मदन भण्डारीको नाम विर्सिएर पशुपति नाथको नाम जप्न थालेको भएपनि उनले पाप गरेकाले पशुपतिनाथले यसलाई क्षमा नदिने बताए । पशुपतिनाथले राम्रो मान्छेलाई मात्र माया गर्ने भएकाले देशको कानून मिच्नेलाई पशुपतिनाथले पनि माफी नदिने उनको भनाइ थियो ।
आज आम जनताले र पशुपतिनाथले पनि केपी ओलीलाई धिक्कार्ने नेता नेपालले बताए । केपी ओली पाप पखाल्न पशुपतिनाथको दर्शन गर्न गएका भए पनि उनले गरेको पापलाई पशुपतिनाथले क्षमा नदिने पनि बताए । केपी ओलीले निर्वाचन आयोग पुगेर धम्की दिएको पनि नेपालको आरोप थियो ।
यस्तै वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको तानाशाही प्रवित्तिलाई जसरी पनि पराजय गराइ छोड्ने बताएका छन् । उनले आधिकारिक पार्टी आफूहरुकै भएकाले यसको निर्णय छिटै गर्न पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् । के के कानुनी प्रक्रिया छन् मिलाउनु तर घोषणा गर्न ढिला नगर्नु, खनालले भने ।
केपी ओलीले चुनावमा जमानत समेत गुमाउने खनालको दाबी छ । उनले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन आन्दोलन गरेको नभइ देशमा केपी ओलीको सामन्तवादी प्रवित्ति अन्त्यका लागि आन्दोलन गरेको पनि बताए ।
कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले बल मिचेर जंगली प्रक्रियाबाट संवैधानिक आयोगहरुमा नियुक्ति गरेको बताएका छन् ।
उनले केपी ओलीको वर्तमान सरकार काम चलाउ मात्र हो तर यसलाई काम चलाउ भनेर पनि घोषणा नभएकाले सरकार पूर्णत अवैधानिक भएको पनि बताएका छन् । अवैधानिक सरकारले गरेका सबै निर्णय र नियुक्तिका विरुद्ध आन्दोलन गर्नु परेको पनि उनले बताए । केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार गुमाइसकेको पनि नेता श्रेष्ठले बताए ।
प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज विरोध सभा गरेको हो ।































प्रतिक्रिया