नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले बुधबार काठमाडौँमा आयोजना गरेको बिरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले विकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिकरुपमा खारेज नगरीकन संविधानको धारा र अक्षरहरुमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसीवादको अभ्यास गरेको उनको भनाइ छ । प्रवक्ता श्रेष्ठले कुनैपनि हालतमा फाँसीवाद नसहने भन्दै फाँसीवादलाई परास्त गर्ने बताए ।
प्रवक्ता श्रेष्ठले लोकतन्त्रवादीहरु चुनावको पक्षमा भएपनि संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफूहरुलाई नचाहिएको बताए । लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उनको भनाइ छ । लोकतन्त्रको ध्वंस गर्ने तथा लोकतन्त्रको हत्या गर्ने चुनाव प्रतिगमनविरोधी आन्दोलन सफल बनाएर खारेज गर्ने उनको भनाइ छ ।
प्रवक्ता श्रेष्ठले प्रतिगमनविरुद्ध संयुक्त संघर्ष गर्न पहलकदमी गरिरहेको भएपनि त्यसो हुन नसकेको बताए । तर केपी ओलीको गुटबाहेक सबै आन्दोलनमा रहेको उाको भनाइ छ । आन्दोलनले संसद पुनर्स्थापना गर्ने कुरा सुनिश्चित भएको उनले दाबी गरे । उनले पार्टीले जनाएका प्रतिबद्धताहरु केपी ओलीको निरंकुश, स्वेच्छाचारीताको कारणले समृद्धिको सपना पूरा गर्न नसकेको बताए।





























प्रतिक्रिया