शौच गर्न निस्किएकी १४ वर्षीया बालिकालाई अपहरणपछि सामूहिक बलात्कार

शौच गर्न निस्किएकी १४ वर्षीया बालिकालाई अपहरणपछि सामूहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

रातको समयमा शौच गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अपहरणपछि १४ वर्षीया ती बालिकाको बलात्कार गरेका प्रहरीले जनाएको छ।  

घटनास्थल मोरङको जहदा गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत पर्छ। उक्त ठाउँ बालिकाको घरभन्दा करिब डेढ किलोमिटर पर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। राति करिब ९:३० बजेतिर जबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको देखेपछि छिमेकीले परिवारका सदस्यलाई जानकारी दिए। छोरी घर नफर्किएपछि करिब ११ बजेतिर हल्लाखल्ला गर्दै अभिभावक र स्थानीय बासिन्दा खोजीमा निस्किए। तर फेला पार्न सकेनन्।  

त्यसको दुई घण्टापछि बालिका अत्तालिँदै घर आइपुगिन्। स्थानीय वीरेन्द्र राजवंशीका अनुसार मोटरसाइकलमै ल्याएर बालिकालाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए। बालिका निक्कै डराएकी, आत्तिएकी र मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेकी थिइन्। पछि बालिकाले आफूमाथि बलात्कार भएको सुनाएकी थिइन्।  

प्रहरीले घटना राति १ बजेतिर मात्रै थाहा पायो । खोजी गर्दा बलात्कारमा संलग्न फेला नपरेपछि मात्र आफन्त र स्थानीयले नै ढिलो गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका डीएसपी थापाको भनाइ छ। त्यसपछि खोजी थालेको प्रहरीले पनि बलात्कारमा संलग्न युवालाई फेला पार्न सकेन।  

‘घटना लगत्तै प्रहरीलाई जानकारी दिइएन। गाउँले आफैं होहल्ला गर्दै खोजीमा निस्किएछन्। त्यो कुरा चाल पाएर बलात्कारमा संलग्नहरूले भाग्ने मौका पाए,’ डीएसपी थापाले भने, ‘घटना सुन्नेबित्तिकै खोजी थालिए पनि उनीहरू भागिसकेका थिए। घटनास्थलबाट भारतीय भूमि नजिकै भएका कारण भारततिर नै फरार भएको आशंका छ।’  

बलात्कारमा संलग्न दुवै जनाको पहिचान भइसकेको छ। प्रहरीले घटनामा संलग्नजहदा–१ का २२ वर्षीय दिपेशकुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी गरिरहेको छ। दुवै जना अहिले गाउँबाट फरार छन्। उनीहरूको खोजीमा सहयोग गर्न नेपाल प्रहरीले भारतीय प्रहरीलाई पनि आग्रह गरेको छ।अन्नपूर्णबाट

Logo