नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति प्रचण्ड-नेपाल समूहले आपत्ति जनाउँदै निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । सो पार्टीले एक विज्ञप्ति जारी गर्दै उनको रिहाइको माग गरेको हो ।
प्रचण्ड–नेपाल पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति निकालेर झाँक्री पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै त्यसको भर्सना गरेको हुन् । विज्ञप्तिमा भनिएको छ– ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरङकुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ ।’
विज्ञप्तिमा लेखिएको छ, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनैपनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पस्ट हुँदा हुँदै पनि राजनीतिक आलोचनालाई राज्य विरुद्धको कसुर देख्नु गम्भिर दृष्टी भ्रभ पूर्वाग्रह र स्वेच्छाचारीता बाहेक केहि होइन । हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भर्सना गर्दै केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’
यस्तै नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पनि प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताएका हन् । ‘रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोल्नु भयो भनेर पक्राउ गरियो । यो लोकतन्त्रमाथिको आक्रमण हो’, प्रचण्डले भनेका छन् ।
यसैगरि, प्रचण्ड–नेपाल पक्षीय युवासंघले पनि झाँक्रीको गिरफ्तारी प्रति आपत्ति जनाउँदै निःशर्त र अविलम्ब रिहा नगरे देशभर आन्दोलन गर्ने चेतावनी नै दिएको छ ।





























प्रतिक्रिया