सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनु पर्छः प्रधानमन्त्री ओली

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनु पर्छः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्व विद्यालयहरुबीच परियोजना मूल्याङ्कन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र  विभिन्न विश्व विद्यालयबीच परियोजना मूल्याङ्कन सम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए ।  

सामाजिक क्षेत्र र समाज कल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासोबीच आज पहिलो पटक एक करोडभन्दा तलका परियोजनामा विश्वविद्यालयका विद्यार्थी सहभागी गराएर परियोजना मूल्याङ्कन गर्ने कार्य प्रारम्भ गरिएको हो ।  प्रधानमन्त्री ओलीले भने, “विद्यार्थीलाई अध्ययन, मूल्याङ्कनमा लगाउनु महत्ववूर्ण आयाम हो, अध्ययनबाट पुस्तकका ज्ञान मात्रै होइन, विद्यार्थीमा ज्ञान, सीपको विकास हुने र समाज विकासमा समेत सहयोग पुग्नेछ ।”

यस्ता कार्यक्रमले सङ्घसंस्थाले गरेका कामको अनुगमन हुन्छ भन्ने सुनिश्चितता गराउँदै कार्यक्रम लागू गर्नेलाई पनि सावधानी अपनाउन प्रेरित गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले यसले विगतका कमजोरी सच्याउँदै प्रभावकारी ढङ्गले अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य लिएर नयाँ अठोटका साथ मुलुक अघि बढिरहेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले मुलुकको गन्तव्य भेट्न पनि अनुगमन मूल्याङ्कन जस्ता कार्यक्रमले मुख्य भूमिका खेल्ने बताए ।  

प्रधानमन्त्री ओलीले सुखी नेपाली हुनका लागि अधिकार, सामाजिक न्याय र समानता तथा निर्भय वातावरण हुनु पर्नेमा जोड दिँदै सरकार त्यस्तो वातावरण तयार पार्न अग्रसर रहेको जनाए । उनले सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियामक निकायले नियमन, अनुगमन गर्नुपर्नेमा पनि जोड दिए ।  

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकमा डरलाग्दो अवस्थाको परनिर्भरता रहेको स्मरण गर्दै भने, “हामी आफैँले उपभोग गर्ने चिजको उत्पादन गर्न सकिरहेका छैनौँ,  विदेशी सामान आयात गरेर प्रयोग गर्ने गरेका छौँ र  चाहिनेभन्दा नचाहिने कुरा खपत गरिरहेका छौँ ।” नेपालीले बढी नक्कल गर्ने गरेको जनाउँदै उनले मौलिक प्रयोग र मौलिक उत्पादनतर्फ जान आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले मुलुकले अङ्गीकार गरेको सदुपयोगको सिद्धान्त अनुसार जमीन, पानी, खानी, जनशक्ति र बौद्धिक क्षमता तथा परम्परागत ज्ञानको सदुपयोग जरुरी रहेको औँल्याए। श्रीलङ्काले बुद्धको दाँत भनेरै व्यापक पर्यटन प्रवर्धन गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले बुद्धको उत्खनन नगरिएको अस्तु रामग्राम जस्ता मौलिक सम्पदाको सदुपयोग गर्न सके नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मुलुक हुन सक्ने बताए ।  

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले सामाजिक क्षेत्रमा नतिजामुखी कार्यक्रम र सुशासनको अवधारणालाई मूल कर्याभारका रुपमा विकास गर्ने लक्ष्य अनुसार नयाँ अभियान थालनी भएको बताउँदै आगामी दिनमा परिषद्का सबै कार्यक्रमको मूल्याङ्कन हुने जानकारी दिइन्। सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ लगायतको सहभागिता थियो ।

Skip This
Skip This
Logo