पश्चिमी वायुको प्रभावः तीनदिन देशभर बदली, हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः तीनदिन देशभर बदली, हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।  

उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस वायुको प्रभावले वर्षा हुने सम्भावना भने रहेको छैन ।” उनले भने ।  

हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।  

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ८ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव चार डिग्री सेल्सियस रहेको छ ।  

Logo