‘संविधान अनुरुप नै प्रतिनिधसभा विघटन भएको छ’ : प्रधानमन्त्री (भिडियोसहित)

‘संविधान अनुरुप नै प्रतिनिधसभा विघटन भएको छ’ : प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

शनिबार बुटवलमा आयोजित ‘लुम्बिनी प्रदेशस्तरीय बृहत् सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाको नेता कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारका पालामा थुप्रै काम गरेको र जनताका पक्षमा रहेको नेपका पार्टी फुटेको नभइ पार्टीमा बसेर सरकारको बदनाम गर्ने र पार्टी अनुशासन नमान्ने केही मान्छेहरू मात्रै पार्टीबाट बाहिर गएको बताए । देश चुनावमा गइसकेको उल्लेख गर्दै सडकबाट नभई बाकसमा राखेको मतपत्र गनेर पुनः सत्ता हात लिने प्रधानमन्त्री ओलीले दावी पनि गरे । सभामा बोल्दै उनले मतपत्र वत्ती बालेर गन्ने र ५०  लाख मत ल्याएर सरकार बनाउने दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारका पालामा सर्वाधिक विकासका काम भएको तथा देशमा सुशासन कायम गर्नका साथै देशको स्थायित्वका लागि संविधानसम्मत प्रतिनिधिसभा विघटन गरेर जनता समक्ष गएको दावी पनि गरे ।  

यस्तै सभाको सम्बोधन गर्दै, ओली पक्षीय नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले बैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताए । उनले लुम्बिनी प्रदेशका नेता कार्यकर्तालाई प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्नेगरी चुनावी तयारी गर्न निर्देशन समेत दिए । मन्त्री पौडेलले बुटवलको जनसभाले नेकपा फुटेको नभई केही स्वार्थी, षड्यन्त्रकारी तत्व चोइटिएका हुन् र नेपाली जनता ओलीको पक्षमा छन् भन्ने पुष्टि गरेको दावी पनि गरे ।

सभालाई सम्बोधन गर्दै अर्का नेता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड माधव पक्ष चुनावबाट भागेको आरोप लगाए । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजेपनि भुइँमा पछारिएको उनले आरोप लागाए । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नु पर्ने अवस्थामा पुगेको र प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको पोखरेलले दावी गरे ।

यस्तै पार्टीका स्थायी कमिटी सदस्य तथा ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीले संघीय लोकतान्त्रिक मुलुकको रक्षा र नेतृत्व केपी शर्मा ओलीले गर्ने बताए । उनले प्रचण्ड–माधव पक्षप्रति लक्षित गर्दै सरकार ढाल्ने र पार्टी फुटाउने बाहेक उहाँहरुको रेकर्ड नभएको र प्रचण्ड माधव पक्षसँग युद्ध र आन्दोलनको धङधङी बाँकी रहेको उल्लेख गर्दै पार्टीको कार्यदिशा आफूहरुसँग रहेको जिकिर पनि गरे । मन्त्री रायमाझीले प्रचण्डले दुई मन्त्री आफ्नो पक्षमा फर्किदैछन् भनेर झुटको खेती गरेको आरोप लगाउँदै बरु प्रचण्ड पक्षका नेता कार्यकर्ता चाहीँ ओली पक्षमा आउन लर्को लागेको दावी पनि गरे ।

यसैबीच आजै बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको प्रधानमन्त्री ओलीले शिलान्याश गरेका छन् । लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

Logo