प्रतिनिधिसभा विघटन : प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटन : प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले सरकारको प्रतिगमन विरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।  

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड-माधव समूहले फागुन ५ देखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोध प्रदर्शन, सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको हो । १५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रदर्शनका कार्यक्रम हुने भएका छन् । प्रचण्ड माधव समूहले प्रतिगमन विरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रर्दशन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमन विरुद्ध फागुन ७ देखि १५ गते सम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध वृहत अन्तर्क्रिया गर्ने , फागुन ६ गते प्रतिगमन, मंहगी र भ्रष्टाचार विरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित अपरान्ह १ घण्टा विरोध प्रदर्शन गर्ने, फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमन विरुद्धका कार्यक्रम गर्ने, फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रदर्शन गर्ने, फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एवं बलात्कारविरुद्ध काठमाडौं उपत्यका सहित देशव्यापी प्रदर्शन गर्ने, फागुन १० गते दलित मोर्चाको तर्फबाट काठमाडौं उपत्यकासहित देशव्यापी विरोध गर्ने लगायतका छन् । यस्तै विरोधका अन्य कार्यक्रम मध्ये फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु पीछडिएको क्षेत्र लगायत उत्पीडीत समुदायको पहिचान झल्किने झाँकीसहित प्रदर्शन गर्ने, १४ गते काठमाडौंमा वृहत युवा र्याली र १५ गते किसान सुकुम्बासी मोर्चाको तर्फबाट विरोध कार्यक्रम गरिने भएको छ ।

प्रचण्ड माधव समूहले नेपालगञ्ज र जनकपुरमा पनि ठूलो सभा गर्ने तयारी गरेको छ । ती स्थानमा गरिने सभाको मिति पछि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक र निरंकुश कदम, अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेशमार्फत संबैधानिक निकायका पदाधिकारी नियुक्त गरि संविधान र कानुनको ठाडो उल्लंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरि संविधान एवं कानुन कार्यान्वयनको अवस्थामा ल्याउन आफूहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताए ।

आइतबार विहान पेरिशडाँडामा बसेको पार्टीको केन्द्रीय संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रमलाई पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रचण्ड माधव समूहले पुस ५ गते देखि लगातार संघर्षका कार्यक्रम संञ्चालन गर्दै आएको छ । पुस १४, माघ ९ र माघ २८ गते काठमाडौंमा विरोधसभा गरेको यो समूहले काठमाडौं बाहिर पनि दैनिकजसो विरोधसभा गर्दै आएको छ ।

Logo