साँखुबाट हिँडेरै पनौती पुगेका माधव नारायणका ब्रतालुले गरे पूजा आराधना

साँखुबाट हिँडेरै पनौती पुगेका माधव नारायणका ब्रतालुले गरे पूजा आराधना

केन्द्रबिन्दु
0
Shares

पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका  ब्रतालु माधवनारायण भगवानलाई काभ्रेपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौतीमा राखेर पूजा आराधना गरेका छन् ।

प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका  ब्रतालु शंखरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीन कालदेखिको परम्परा छ । आइतबार दिउँसो पनौती हिँडेका  ब्रतालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती पुगेका थिए ।  ब्रतालुले साेमबार  बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि माधवनारायणलाई विशेष पूजा आराधना गरेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो ।

स्नान र पूजा सकिएपछि माधवनारायण भगवानलाई लिएर सांस्कृतिक शहर पनौती परिक्रमा गरिएको थियो । माघशुक्ल चतुर्थीको दिउसोको भोजन बनेपाको भोखुसीमा गरिएको छ । भोजनपछि  ब्रतालु साँखुस्थित शालीनदीतिरै फर्किएका छन् ।  

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका  ब्रतालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए।

विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए।  

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शंखरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।

शनिबार र सार्वजनिक बिदा परेका दिन शालीनदीमा भक्तजनको भीड लाग्ने गरेको छ । शालीनदीस्थित माधवनारायण मन्दिर जाने भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम छ । मास्क नलगाई जानेलाई समितिले निःशुल्क मास्क वितरण गरिरहेको छ । सबै भक्तजनलाई हातमा स्यानिटाइजर लगाएर मात्र मन्दिर प्रवेश गराइन्छ ।

मन्दिर नछिर्ने तर शालीनदी क्षेत्रमा आउने भक्तनलाई भने समितिले माइकिङ गरेर मास्क लगाउन आह्वान गर्दै आएको छ । शालीनदीमा एक महिने माधवनारायण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवा लगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायात भीड हुने गरेको छ ।

Skip This
Skip This
Logo