नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’ को लगातार पाचौं दिन शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहिबार नियमित कारोबार सुरु भएको १ मिनेटमै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
बुधबार पनि सर्किट लागेर बैंकको अन्तिम कारोबार ४९७ मा भएको थियो । आज बिहिबार कारोबारको प्रिओपनिङमा नै बैंकको मूल्य ५२१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेटमै बैंकको शेयर मूल्यमा सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर ५४६ पुगेको छ ।
लगातार सकारात्मक सर्किट लागेको निफ्राको बजार पूँजीकरण १ खर्ब नाघेको छ । गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सूचिकृत भएर गत आइतबारबाट कारोबार सुरु भएको थियो । सूचिकृत भएको पाँचौ दिनमा नै कम्पनीको बजार पूँजीकरण १ खर्ब ९ अर्ब २० करोड पुगेको हो ।
त्यस्तै, आजै नेपाल इन्फ्रास्ट्रक्चर बैंक खर्बपति क्लबमा प्रवेश गरेको छ । खर्बपति क्लबमा प्रवेश गर्ने यो ८ औं कम्पनी हो । बिहीबारको प्रि–ओपनिङ सेसनको कारोबारमा ४.८३ अंकले शेयर मूल्य बढेर ५२१ रुपैंयाँ पुगेसँगै बैंक खर्बपति क्लबमा प्रवेश गरेको हो ।
यसअघि खर्बपति क्लबमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, ग्लोबल आइएमई र एनआइसी एसिया बैंक थिए ।





























प्रतिक्रिया