यस वर्षको दशैंमा सुन बजार सुनसान, फाटफुट बाहेक कारोबार नै भएन

यस वर्षको दशैंमा सुन बजार सुनसान, फाटफुट बाहेक कारोबार नै भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विगत ९ महिनादेखि विश्वभर नै कोरोना भाइरसको महामारीले आक्रान्त बनाएको छ । अहिलेसम्म पनि विश्वका अधिकांश मुलुकहरुमा कोरोना महामारी नियन्त्रणमा आउन सकेको छैन । भाइरस नियन्त्रणको करिव ६ महिनासम्म विश्व नै लकडाउन भएको थियो । यसरी लकडाउन हुँदा विश्वका ठूला ठूला उद्योग, व्यापार व्यवसाय ठप्प भएका थिए । यसरी उद्योग, व्यापार व्यवसाय बन्द भएकाले विश्व अर्थतन्त्र नै धरासायी बनेको छ ।

कोरोना महामारीले विश्व अर्थतन्त्र नै तहसनहस बनाएकाले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि विगत चार महिनादेखि अधिकांश मुलुकहरुले लकडाउनको अन्त्य गरेर उद्योग, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् । तर केही मुलुक बाहेक अन्य मुलुकमा कोरोना संक्रमणदर बढी रहेको छ ।

नेपाल पनि यो महामारीबाट अछुतो रहेको छैन । नेपालले पनि करिव आठ महिनादेखि कोरोना महामारीको सामान गरिरहेको छ । सरकारले महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म लकडाउन भएको थियो । सरकारले साउन ७ गते लकडाउनको अन्त्य गरेसँगै कोरोना संक्रमण बढेकाले काठमाडौं उपत्यकामा तीन साता लामो निषेधाज्ञा लागु गरेको थियो ।

तर पनि कोरोना संक्रमण घटेको छैन । अझ दिनप्रतिदिन बढी रहेको छ । यसरी कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको छ । यसको प्रभाव नेपाली सुन बजारमा पनि देखिएको छ । पहिलो कोरोना प्रभावले शिथिल बनेको छ भने अर्को तर्फ सुनको मूल्य उच्च रुपमा बृद्धी भएकाले पनि कारोबार ठप्प रहेको छ ।

नेपालमा गत चैत ११ गतेदेखि बन्द रहेको सुनचाँदीको कारोबार जेठ २६ गतेबाट सञ्चालनमा आएको थियो । तर सुन कारोबार सुरु भएको दिन देखि अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्य बढेर आएकाले नेपालमा पनि यसको प्रभावले नेपालको इतिहासमा पहिलो पटक सुनको मूल्य १ लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको थियो ।

यसरी विश्व बजारमा नै सुनको मूल्य बढ्नुको पहिलो कारण भनेको कोरोना प्रभाव रहेको छ भने कोरोनाको प्रभावले विश्वका ठूला लगानीकर्ताहरु अन्य क्षेत्रमा लगानी सुरक्षित नहुने भएको भन्दै सुनमा लगानी गर्ने बढेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको माग समेत बढेकाले सुनको मूल्य पनि बृद्धी हुदै गएको छ ।

तर, विगत एक वर्षदेखि निरन्तर रुपमा नेपाली बजारमा सुनको मूल्य बढ्दै गएको छ । नेपालमा सामान्यतया बिबाहको लगन र चाडपर्वमा बढ्ने सुनको मूल्य विगत एक वर्षदेखि लगातार रुपमा विवाहका लगन तथा कुनै चाडपर्व विना नै उतार चढाव आइरहेको छ ।

करिव एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उतारचढाव आइरहेकाले नेपालमा यसको असर पर्दै गएको छ । गत साउन र भदौ महिनामा अन्र्तराष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेसँगै सूनको मूल्य पनि वृद्धि हुन थालेको थियो । त्यो सँगै चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिकाबिच पछिल्लो समय भएको विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको थियो ।

नेपाली बजारमा चाडपर्वको समयमा सुनको कारोबार बढ्ने भएता पनि यो वर्ष भने सुनचाँदी बजार सुनसान रहेको छ । दशै लाग्दा समेत सुनचाँदीको फाटफुट बाहेक कुनै पनि कारोबार नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनका अनुसार गत वर्ष पनि सुनको मुल्य बढ्नाले खासै सन्तोषजनक व्यापार नभएको तर गत वर्ष भन्दा अघिल्लो वर्षमा भने धेरै राम्रो कारोबार हुने गरेको थियो । यो वर्ष भने कुनै पनि कारोबार नै नहुने देखिएको छ । उनले भने, ‘यही वर्ष सरकारले पनि सुनचाँदी कारोबारमा कर बढाएको र यो वर्ष नै कोरोनाको प्रभावले मूल्य पनि छोइन नसक्नु भएकाले सुनचाँदी व्यवसायी मारमा परेका छन् ।’

कोरोना महामारीले मानिसहरुलाई दुई छाक टार्न समेत मुस्किल भइरहेको अवस्थामा मूल्य सुन्दै डर लाग्ने गरी मूल्य बढेकाले कारोबार हुन छाडेको छ । अझै पनि मूल्य बढ्न सक्ने अन्तर्राष्ट्रिय बजारले नै अनुमान गरेको छ तर अब अमेरिकामा राष्ट्रपतिको निर्वाचनको परिणाममा नै भर पर्ने उनको भनाइ छ ।

नेपालीहरुको आयस्रोत नै कमजोर रहेको तर सुन अत्याधिक महंगो भएकाले पनि सामान्य नेपाली सर्वसाधारणहरुको पहुँज भन्दा बाहिर रहेकाले पनि सुनको कारोबार ठप्प रहेको छ । सुनका मूल्य बढेसँगै नयाँ सुन नकिने पनि आफूसँग भएको सुन धेरैले बेच्ने आकलन व्यवसायीहरुको रहे पनि भने जस्तो नभएको शाक्यले बताएका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ को सुरुको महिना साउन १ गते नेपाली बजारमा ६४ हजार ३ सय रुपैयाँ रहेको थियो । तर चालु आर्थिक वर्ष २०७७/७८ को सुरुको महिनामा आएर ९२ हजार ७ सय रुपैयाँ पुगेर कारोबार भइरहेको थियो । यो एक वर्षमा २८ हजार ४ सय रुपैयाँ मूल्य बृद्धी भएको थियो ।

त्यस्तै, कोरोनाको प्रभावले मुलुक लकडाउन हुनु अघि चैत १० गते अन्तिम पटक छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ र चाँदीको भाउ ७२० रुपैयाँ थियो । यहि समयमा सरकारले बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार दर प्रतितोला २ हजार ३२ रुपैयाँले बृद्धि गरेको थियो । यो भन्सार पनि सुनको मूल्यमा जोडिने भएकाले पनि सुनको मूल्य बृद्धी भएको देखिन्छ । नेपाली बजारमा अहिले पनि निरन्तररुपमा सुनचाँदीको मूल्य घटबढ भइरहेको छ । निरन्तर मूल्यबृद्धी भइरहेकाले अब देशभरका २५ हजार भन्दा बढी व्यवसायीहरु पलायन हुने अवस्था आएको व्यवसायीहरुले बताएका छन् ।

कति छ स्टक ?

दसैँमा समेत सुनको माग नबढेपछि सुन आयातमै कमी देखिएको छ । चालु आर्थिक वर्ष लागे देखिनै घटेको सुन आयात असोजमा समेत सुधार हुन सकेको छैन । गएको एक महिनामा जम्मा ५० किलो मात्रै सुन आयात भएको छ । गत भदौ जति नै असोजमा समेत सुन आयात भएको बैंकर एसोसिएसनले जनाएको छ । चालु आर्थिक वर्षमा जम्मा एक सय केजी सुन आयात भएको छ । गत आर्थिक वर्षको ८४ किलो स्टक सुनसहित यस वर्ष असोज मसान्तसम्ममा बैंकहरूसित जम्मा एक सय ८४ किलो सुन स्टकमा रहेको छ ।

अहिले बैंकमा भएकै सुनको माग बजारमा नदेखिएकाले बैंकहरुले पनि सुनको आयात गर्न चासो देखाएका छैनन् । दसैँ मुखमै आउँदा समेत सुन पसलमा चहल पहल देखिएको छैन । व्यवसायीहरुले यति बेला फाट्ट फुट्ट आउने ग्राहकलाई पुरानै स्टकमा रहेको सुनले काम चलाउँदै आएको बताएका छन् ।

कुन महिनामा कति बढ्यो ?

गत आर्थिक वर्षको साउन १ गते ६४ हजार ५ सयमा कारोबार भएको थियो । तर यो महिनाको अन्त्यमा ७ हजारले बढेर ७१ हजार ५ रुपैयाँ पुगेको थियो । महिलाहरुको महान पर्व तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्ने भएका कारण साउनमा सुनको मूल्य बढ्ने गरेको छ ।

साउनमा बढेको सुनको मूल्यले भदौको शुरुवात देखिनै निरन्तरता रहेको थियो । भदौ महिनामा साउनको भन्दा अझ बढी घटबढ भई उकालो लागेको छ । भदौ ९ गते नेपालको इतिहासमै सबैभन्दा बढी छापावाला सुन तोलाको ७३ हजार ५ सयमा कारोबार भएको थियो । त्यसपछि केहि ओरालो लागे जस्तो गरेर पुनः भदौ १८ गते सोहि उच्च बिन्दुमा मुल्य पुगेको थियो भने महिनाको अन्तिममा ७१ हजार ३ सयमा झरेको थियो ।

यसरी भदौमा प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको थियो । यो महिनामा अमेरिका चीन ब्यापार युद्ध कारण यो महिनामा सुनको मुल्य बढेको थियो । भदौ महिनामा उच्च बिन्दुमा पुगेको सुनको मुल्य असोजमा आएर सामान्य घटबढ मात्रै भएको थियो । असोज महिनाको सुरुवात ७१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य महिनाको अन्त्यमा घटेको छ । भने बिचमा ७ सय रुपैयाँले बढेर ७२ हजार पुगेको थियो ।

कात्तिक महिनामा पनि सुनको मुल्य त्यति धेरै घटबढ भएको थिएन । असोज महिनामा भएको मुल्य अनुसार नै कारोबार भएको छ । भदौ एक गते ७० हजार ६ सयमा कारोबार भएकोमा विचमा १४ सयले बढेर ७२ हजार पुगेको थियो भने कात्तिक २२ गते घटेर ६९ हजार ९ सय पनि पुगेको थियो । यसरी समग्रमा कात्तिक महिना १४ सय रुपैयाँ बढेको थियो ।

मंसिर महिनाभरी पनि सुनको मूल्य घटबढ भइरहयो । मंसिर महिनामा नेपाली प्रचलन अनुसार लगनको महिना रहेकाले सुनको माग बढ्ने गर्छ । यहि भएर पनि मंसिर महिनामा सुनको मुल्य घटबढ भइरहन्छ । तर यो महिनामा ४ सय रुपैयाँ भन्दा बढी मूल्य बढेको छैन । पुष महिनामा मात्र प्रतितोला १३ सय रुपैयाँ बढेको थियो । माघ महिनादेखि साउन महिनासम्म सुन प्रतितोला १९ हजार ३ सय बढेको थियो ।

अमेरिका तथा अन्य मुलुकहरुको केन्द्रीय बैंकले कोभिड–१९ को मन्दीका कारण निम्तिएको मुद्रा संकुचनको विपरित जोखिमसँग जुध्नका लागि ब्याजदरमा कटौती गरेकाले सुनको मूल्य लगातार रुपमा उकालो लागेको जानकारहरुले बताएका छन् ।

यतिबेला सरकारी ऋणपत्र लगायतको ब्याजदर तल ओर्लिएकाले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा मूल्य बढेको देखिन्छ । लकडाउन यता नेपालमा सुनको कारोवार नभएपनि विश्व बजारमा भने नियमित कारोवार भइरहेको छ ।

दूई लाख कालिगढ बेरोजगार

नेपालमा सुनचाँदीका गहरगना बनाउने नेपाली तथा भारतिय कालिगढ गरी दुई लाख भन्दा बढी रहेका छन् । तर नेपाली कालिगढको संख्या निक्कै कम छ । नेपालभरका २२ हजार सुनचाँदी व्यवसायी र पसलहरुबाट करिब २ लाख कालीगढहरुले रोजगारी पाउँदै आएका थिए । तर सुनको कारोबार तथा माग नै नभएकाले कालिगढहरु बेरोजगार हुन थालेका छन् । त्यसमा ८० प्रतिशत भारतीय कालिगढले रोजगारी पाउँछन् भने बाँकी २० प्रतिशत मात्रै नेपाली कालिगढले यस क्षेत्रमा रोजगारी पाउँदै आएका छन् ।

दक्ष हुँदा हुँदै पनि कतिपय नेपाली कालिगढले यो क्षेत्रमा रोजगारी पाएका छैनन् । अर्काेतिर नेपाली भन्दा भारतीय कालिगढले सस्तोमा काम गर्ने हुँदा पनि व्यवसायीको रोजाईमा भारतीय कालिगढ नै पर्दछन् । कम लागतमा पाईने भएपछि व्यवसायीले पनि भारतीय कालीगढलाई पहिलो प्राथमिकता दिने गरेका छन् ।

यसरी सुनचाँदीका गरगहना बनाउने कालिगढ समेत भारतमा नै निर्भर पर्नु परेको छ । सुनचाँदी व्यवसायी, लगानी र कालिगढजस्ता व्यवसायका सबै अंगमा भारतीयहरुको बढ्दो बाहुल्यताले नेपालको सुनचाँदी व्यवसाय नै परनिर्भर र परतन्त्र जस्तो भएको छ ।

Logo