वैशाखमा जसरी पनि चुनाव हुन्छ, सबै तयार भएर बसौं : उपप्रधानमन्त्री पोखरेल

वैशाखमा जसरी पनि चुनाव हुन्छ, सबै तयार भएर बसौं : उपप्रधानमन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका–५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे। 

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनु पर्छ । ”

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा  विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । 

वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गरेका थिए। 

सो अवसरमा उनले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए। स्थानीयको करीब रु १६ लाख सहयोग उपलब्ध भएको उनले जानकारी दिए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाइ थियो ।

Logo