केन्द्रबिन्दु बुलेटिन : दलहरुबीच सरकार गठनको दौडधुप शुरु (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : दलहरुबीच सरकार गठनको दौडधुप शुरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये संसद् पुनस्र्थापना भएसँगै गठबन्धनको सरकार निर्माणको दौडधुप सुरु भएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले सरकार निर्माणका लागि छलफलको प्रारम्भ गरेका हुन् । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सरकार गठनबारे छलफल शुरु गरेका हुन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको भोलिपल्ट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओलीले पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन् । सर्वोच्चको निर्णय सार्वजनिक नहुन्जेलसम्म निर्वाचनको पक्षमा बोल्दै आएको देउवाले बुधबार भने यस्तो धारणा राखेका हुन् । सभापति देउवाले पछिल्लो राजनीतिक घटनक्रमले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताएका छन् ।

पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो । जलहरी राखेपछि राष्ट्रपति भण्डारी विशेष पूजा गरी फर्किएकी छिन् । यसैबीच आजै, सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिंडेको आरोप लगाएका छन् । नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल शुरु हुने र त्यतिबेला केपी ओलीको संसद विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने जिकिर समेत गरेका छन् । यस्तै पूर्वमन्त्री शेरबहादुर तामाङले ओली पक्षिय संगठनलाई दह्रिलो बनाएर आउँदो चुनाव जितेरै छाड्ने दाबीसमेत गरेका छन् । 

नेकपाको ओली समूहले सर्वोच्च अदालतको फैसला अनुसार १३ दिनभित्रै संसद बैठक बोलाउने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजनीनामा दिने सम्बन्धमा दलहरूसँग छलफल भइरहको र दलहरूसँगको छलफलमा रहेर मुलुक अन्योलमा नरहने गरि प्रधानमन्त्रीले उपयुक्तताका आधारमा राजीनामा दिने पनि ओली पक्षीय नेकपाले जनाएको छ । 

Logo