नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय १७ विद्यार्थीलाई अपहरण गरेको छ । अपहृत विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।
‘सशस्त्र समूहले एउटा माध्यमिक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको हाे । विद्यार्थीहरू समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन्’, प्रहरी प्रवक्ता मोहम्मद सेहुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘जाम्फारा राज्यको प्रहरी कमान्डले सेनाको समन्वयमा संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।’
स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तर–पश्चिम क्षेत्रको विज्ञान विषय पढाइ हुने उक्त विद्यालयबाट विद्यार्थीलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटना सञ्चार माध्यममा पटक–पटक आएका छन् ।
उक्त समूहले गत साता पनि यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेको थियो । डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उनी त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका ३ सय किशोर अपहरणमा परेका थिए । दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विद्यार्थीलाई छाडिएको थियो । पछिल्लो अपहरणबारे नाइजेरियाको संघीय सरकारको कुनै प्रतिक्रिया आइसकेको छैन ।एएफपी































प्रतिक्रिया