‘संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको छ, प्रतिपक्षी डराएका छन्’: सुवास नेम्वाङ

‘संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको छ, प्रतिपक्षी डराएका छन्’: सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको बताएका छन् । 

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि दह्रो भएको बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणी समेत गरे। 

प्रतिनिधिसभा पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गरेको समेत बताए । तर अहिले पुनर्स्थापित भएपछि फेरि संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे । 

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङ्ले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताए । 

नेता नेम्वाङले कानूनीरुपमा नेकपा विभाजन भइनसकेको पनि बताए। अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्वाङ्ले बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणी समेत गरे । 

‘हामीले भनिराखेका छौं । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं ।’ 

Logo