संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले (युएनएफपीए) ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तर्निकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) रहेका छन् । ती सामग्री सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सहयोग पुर्याउनेछ विश्वास व्यक्त गरिएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा यूएनएफपिए एक प्रतिनिधिद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेका थिए । नेपाल, चीन र युनएफीपएबीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब तीन करोड मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको युनएफीपएद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।  प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् । यसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने जनाइएको छ  ।  

सो अवसरमा प्रमुख विशेषज्ञ डा पोखरेलले भने, “कोभिड–१९ महामारीमा संकटमा परेका महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन् स्वास्थ्य सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ । हाम्रो प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तरछ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रीत छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको छ । हामी चीन सरकार र युएनएफपीए प्रति आभारी छौँ ।” 

मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ । “स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुँदा महिला र किशोरीका लागि यौन तथा प्रजनन् स्वास्थ्य सेवा सुरक्षितरुपमा प्रदान गर्न सहज हुने वास्तविकत सर्वविदितै छ । नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ । चीन सरकारबाट प्राप्त यस किसिमकोसहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ” नेपालका लागि युएनएफपीए प्रतिनिधि लुब्ना बाकिले भने। 

यस अघि पनि नेपाल, चीन र युएनएफपीएबीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत एकहजार २०० सेट पिपिई र तीनहजार ६०० थान स्यानिटाइजर स्वास्थ्य  मन्त्रालयलाई हस्तान्तरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।रासस

Skip This
Skip This
Logo