बौद्धिक सम्पत्ति चोरी भएका घटना नेपालमा नसुनिएका होइनन् । तर, चोरी भएपछि त्यसलाई कानूनी दायरामा ल्याइएका घटना भने हामी वीरलै मात्र सुन्न पाउँछौं । प्रतिलिपी अधिकार ऐनको दफा २६ उल्लंघन गरि कुनै रचनाको अनधिकृत प्रतिलिपीहरु पैठारी गरेमा त्यस्ता प्रतिलिपीहरु जफत गरि निजलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।
महानगरीय अपराध महाशाखाको टोलीले फिल्म पाइरेसी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरि सोमबार सार्वजनिक गर्यो । लमजुङ बेसीसहर–२ घर भएका २५ वर्षीय सुजन परियारलाई प्रहरीले सार्वजनिक गरेको हो । पछि फिल्म क्षेत्रसँग जोडिएको अपराध भएकाले मंगलबार चलचित्र विकास बोर्डमा पनि यस सम्बन्धमा पत्रकार सम्मेलन गरि घटनाको बारेमा थप जानकारी दिइयो ।
यसरी प्रहरी प्रशासन र फिल्म बोर्डमा गरि दुई दुई पटक अपराधी सार्वजनिक गरिनुको एउटै उद्देश्य थियो, बौद्धिक सम्पत्ति चोरीका घटना कति गम्भिर हो त भन्ने कुरा सबैलाई अवगत गराउनु । ‘थ्री सिक्स्टी वान डिग्री मिडिया प्रा.लि’ ले ‘सिनेमा घर एप’ बाट वितरण गर्ने चलचित्रहरू सुजनले टेलिग्रामसहित विभिन्न डिजिटल माध्यमबाट सामाजिक सञ्जालमा अपलोड गरेर पाइरेसी गरेको उजुरी परेपछि पक्राउ गरिएको थियो ।
सिनेमा घरको माध्यमबाट वितरण गरेका ‘डमरुको डण्डी बियो’, सरौंतो लगायत अन्य विभिन्न प्लाटर्फममार्फत सार्वजनिक गरिएको चलचित्रहरू पाइरेसी गरेको अनुसन्धानले देखाएको सिनेमा घर एपका सीईओ सागर खरेल बताउँछन् ।
सिनेमा घर एपबाट मात्र नभएर अन्य थुप्रै फिल्म तथा सृजनाहरू सुजनले दुरुपयोग गरिरहेको अनुसन्धानले देखाएको छ । अन्य प्रविधिले पाइरेसी गर्न नमिले पनि टिभीमा आएका चलचित्रहरूलाई खिचेरसमेत विभिन्न माध्यममा अपलोड गर्ने गरेको पाइएको सिनेमाघर एपका सीईओ खरेलको भनाइ छ ।
प्रहरी हिरासतमा राखिएका सुजन जो, पेशाले शिक्षक भएको खुलेको छ । त्यसैले उनी जानाजान बौद्धिक चोरीमा क्रियाशिल रहेको प्रहरीको निष्कर्ष छ । अपराध गरेको स्वीकार गरेका सुजनविरुद्ध जिल्ला अदालत काठमाडौंबाट प्रतिलिपि अधिकार ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको नेपाल प्रहरी अपराध महासंघका प्रहरी निरिक्षक भुवनबहादुर खड्काले जानकारी दिए ।
किन बढ्दैछन् पाइरेसीका घटना ?
२०५९ मा बनाएको प्रतिलिपि अधिकार ऐन समय अनुसार संशोधन हुन नसक्दा पाइरेसीको समस्या देखिएको धारणा राख्छन् चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल । समयक्रम अनुसार कानूनमा संशोधन नगरिनुले यो समस्या विकराल बन्दै गइरहेको उनको तर्क छ । पाइरेसी गर्नु अपराध हो । तर, जनता सचेत नहुँदा अथवा कानूनका बारेमा मानिसहरूलाई पर्याप्त ज्ञान नहुँदा यस्ता घटना निम्तिने गरेको बताउँछन् चलचित्र निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने । टिन एजदेखि ३० वर्ष मुनिका युवाहरूमा जानेर होस् वा नजानेरै बौद्धिक चोरी गर्ने र त्यसको अनाधिकृत विक्रि गर्ने परिपाटी रहेको खगेन्द्रको अनुभव छ । कतिपयले रहर र लहडमा मनोरञ्जनका लागि मात्र भएपनि पाइरेसी गर्ने तर, त्यही कारणले एउटा सर्जक/स्रष्टा आत्महत्यासम्मको अवस्थामा पुग्न सक्ने गम्भिर विषयमा बारे भने कमै मात्र जानकार रहेको खगेन्द्रको गुनासो छ ।
कलाकार लामिछानेका अनुसार उनको आफ्नै निकै हिट चलचित्र ‘पशुपति प्रसाद’समेत उ बेला पाइरेसीको शिकार हुँदा निर्माण टिमले ठूलो घाटा व्यहोरेको थियो । त्यहीबाट आजित लामिछानेले अब, कोहीपनि सर्जक तथा स्रष्टा पाइरेसीको शिकार हुन नपरोस् भनेर सचेतनाका लागि भएपनि यस विरुद्ध सशक्त कानूनको आवश्यकता महशुस गर्छन् ।
कलाकार खगेन्द्र लामिछाने मात्र होइन कालाकार संघ, द्वन्द्व कलाकार संघ, निर्देशक समाज, नृत्य कलाकार संघ लगायत पनि सृजनात्मक तथा बौद्धिक सम्पत्ति पाइरेसीविरुद्ध कठोर बन्नु पर्ने पक्षमा छन् । आधुनिक र डिजिटल बजारमा सृजनामा होमिएका स्रष्टा र सर्जक बौद्धिक चोरीको शिकारबाट पेशागत हैसियत नै गुमाउने अवस्थासम्म आइपुग्ने देखिएकाले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण हुनु पर्ने सरोकारवाला संस्थाहरूको माग छ ।
पाइरेसीका घट्ना बढ्नु उचित र समय सान्दर्भिक कानूनको व्यवस्था नहुँदा नै यो विकराल बनेको गुनासो बढिरहँदा चलचित्र विकास बोर्डले भने प्रतिलिपि अधिकार ऐन २०५९ संशोधनका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
मंगलबारको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विकास बोर्डका अध्यक्ष दाहालले चलचित्र विकास बोर्डका तर्फबाट केही महिना अघि नै राष्ट्रिय सभाका सदस्य कोमल वली र रामनारायण विडारीमार्फत राष्ट्रिय सभा र प्रतिनिधिसमामा कानून संशोधनको प्रस्ताव पेश गरिसकिएको जानकारी दिए ।
यस्तै पाइरेसी कतिपय अवस्थामा नजानेरै गरिरहेको अवस्था देखिएकाले त्यस सम्बन्धमा विभिन्न सचेतनामूलक सामग्री निर्माण गरि जनस्तरले बुझ्ने गरि प्रकाशन तथा प्रशारणमा ल्याउने तयारी भइरहेको वोर्डले जनाएको छ । यता, पाइरेसीका घटना न्युनिकरणका लागि हरेकले आफ्नो बौद्धिक सृजना प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा दर्ता गरि आफू कानूनी रुपमा बलियो हुन पनि रजिष्टारको कार्यालयले सबै स्रष्टा र सर्जकलाई सुझाएको छ ।





























प्रतिक्रिया