बाजागाजा घन्काइएको छ । मानिसहरु बाजातालमा नाचगानमा व्यस्त छन् । जिल्लाका ठाउँ ठाउँका मानिस जम्मा भएका छन् । सयौँ मानिसले हर्षोल्लास मनाइरहेका बेला ९३ वर्षीया उडिमा कमिनि र ९६ वर्षीय दलबहादुर गर्वुजाको हातमा कैँची थमाइयो । मोटर बाटोको छेवैमा सिंगारिएको गेटमा रातो रिबन काट्न उडिमा र दलबहादुरको हातमा कैँची दिइएको हो ।
रघुगङ्गा गाउँपालिका–४ दर्मिजामा आयोजित भव्य समारोहबीच ज्येष्ठ नागरिकको तर्फबाट दुवै जनाले संयुक्त रुपमा रिबन काटेर सडकको उद्घाटन गरे । उनीहरुले रिबन काट्नासाथ यता कार्यक्रममा उपस्थित सबैले परर ताली बजाएर त्यस कार्यको स्वागत गरे ।
गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला कुइनेमङ्गले सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै वर्ष मात्रै गाउँपालिका, जलविद्युत् निर्माण गर्ने तुँदी पावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा विष्फोटक पदार्थको सहायताले ट्र्याक निर्माण गरिएको छ । सडकको ट्र्याक निर्माण भएर नियमित रुपमा सवारी वारपार गर्न थालेसँगै भव्य समारोह आयोजना गरी बाजागाजासहित यही फागुन १७ गते सडकको उद्घाटन गरिएको हो । सडक उद्घाटनका लागि आयोजना गरिएको समारोह पनि भव्य थियो ।
सडक निर्मित अन्य संरचनाको उद्घाटनमा मन्त्री, सांसद र नेताहरुकै दौडधुप हुने गर्दछ । देशव्यापी रुपमा यस्तो प्रचलन रहेका बेला सडक उद्घाटनमा रघुगङ्गाले यो नयाँ प्रयोग गरेको हो । गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा सम्पन्न भएको यस योजनाको उद्घाटनमा मन्त्रीदेखि नेतासम्म कसलाई लैजाने भन्ने लामै चर्चा चलेको थियो । तर गाउँपालिकाले सडक योजनाको प्रत्यक्ष लाभान्वित वडाका ज्येष्ठ नागरिकको हातबाट सडकको औपचारिक उद्घाटन गर्ने निर्णय लियो । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेकी दलित समुदायकी ज्येष्ठ नागरिक उडिमा र वडा नं ४ दर्मिजाका जनजाती ज्येष्ठ नागरिक दलबहादुरले रिबन काटेर सडकको उद्घाटन गरे ।
त्यस्तै सो समारोहको उद्घाटन भने वडा नं ७ चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले गरिन् । उनले दीप प्रज्वलन गरेर समारोहको उद्घाटन गरेकी थिइन् । गाउँबाटै गाडीमा चढेर आफन्तसँगको सहायताले उद्घाटनस्थलसम्म आएकी कुइनेमङगलेकी उडिमाले जीवनमै पहिलोपटक यसरी उद्घाटन गर्ने अवसर पाएको बताइन् ।
‘मलाई आज अति नै खुशी लागेको छ, त्योभन्दा बढी धक पनि लागेको छ, जीवनको यो उमेरमा आएर यति ठूलो काममा सहभागी हुन पाएँ, भाग्यमानी नै रहेछु’, उनले भनिन् । खुसीले मुस्कुराएकी उडिमाले सडकमा रिबन काट्दै गर्दा विगतमा गाडी चढ्न सदरमुकाम बेनी पुगेको स्मरण पनि गरिन् ।
‘यस्ता ठूला पहाडमा गाडी गुड्ने कल्पनै थिएन्, खुट्टा समेत टेक्न मिल्ने थिएन, खर र डोरी समातेर भारी बोकेर ओहोरदोहोर गथ्यौं, अहिले त्यही भिरमा मोटर चल्ने भयो, यो हाम्रो सौभाग्य हो, सबैलाई आशिर्वाद छ, यो बाटोमा सधैं मोटर चलिरहोस्’, उडिमाले सुनाइन । जीवनको लामो समय अजिङ्गर पहाडको अक्करे भिरमा डोरी र घाँस समातेर वारपार गरेका दलबहादुरले पनि आफ्नै पालामा गाउँमै मोटर आउने कल्पनासमेत नभए पनि त्यो सम्भव भएको भन्दै खुशी व्यक्त गरे ।
‘भिरमा खुट्टा टेक्नसमेत मुस्किल थियो, त्यही भिरमा ज्यानलाई जोखिममा राखेर नियमितजसो वारपार पनि गरियो, अहिले यही भिरमा मोटर चल्ने सडक बन्यो, भाग्यबस सडकको रिबन काट्ने अवसर पनि पाएँ’, उनले भने । ‘कार्यक्रमको प्रमुख अतिथिको सम्बन्धमा लामै छलफल भएको हो, विवाद भएर भन्दा पनि उपयुक्त विकल्प हुने भएपछि ज्येष्ठ नागरिकको हातबाट सडकको उद्घाटन गराएका हौँ’, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने ।
अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको अध्यक्ष भण्डारीको भनाइ छ । ‘प्रभावित तीनवटै वडाबाट यसवर्ष गौरवको योजनाको बजेट यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा दुई जलविद्युत् अयोजनाले समेत साझेदारी गरेपछि अन्ततः सडकको ट्र्याक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहनेछ’, अध्यक्ष भण्डारीले भने ।
बेग हुँदै चिमखोला पुर्याइएको सडक घुमाउरो भएकाले ट्याक्टरमार्फत् सामान ढुवानी र अत्यावश्यक रुपमा मात्रै प्रयोग हुँदै आएको थियो । बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडक ५६ किलोमिटर लामो रहेको छ । अहिले अजिङ्गर भिरमा सडक निर्माण भएपछि बेनी–मौवाफाँट–दग्नाम–दरमिजा– चिमखोला–घ्याँसीखर्क सडक जम्मा करीब ३६ किलोमिटरमै छोटिएको छ । सिधा सडक सञ्जालले करीब आधा दूरी छोटिएको छ भने नियमित आवतजावतले सडकको उपयोग र प्रभावकारिता समेत बढाएको छ । पहिले घुमाउरो बाटो प्राविधिक रुपमा अनुपयुक्त र जोखिमपूर्ण रहेको थियो । घुमाउरो बाटोबाट छ घण्टा लाग्ने यात्रा अब तीन घण्टामै पार गर्न सकिने भएको छ ।
सडक उद्घाटन समारोहमा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधि, सरोकारवाला र पत्रकार समेतले सडक निर्माणसँगै दुर्गम बस्तीमा विकासको आधार तयार भएको भन्दै सडकलाई सुरक्षित र स्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
सडक निर्माणले यसरी पायो सार्थकता
गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट बस्ती दर्मिजा, चिमखोला कुइनेमङगले सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका छन् । अक्करे पहाड अजिङर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको हो ।
वि.सं. २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नं ४ का वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए । यस सडक सञ्जालले यस क्षेत्रका करीब पाँच हजार जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । खच्चड र मानिसले नै बोकेर खाद्यान्न लगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपज सहजै बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।
यस क्षेत्रमा उत्पादन हुने आलु, सिमी लगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्याउने अपेक्षा गरिएको वडा नं ८ का वडाध्यक्ष गमान छन्त्यालले बताए । उनले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न समेत सडकले सघाउने बताए ।
सत्र करोड बढी लागत
आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म यस सडकखण्डमा रु १७ करोड बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट यस सडकखण्डमा कूल रु चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको जानकारी दिए ।
त्यसमध्ये गाउँपालिबाट रु तीन करोड ६२ लाख ६० हजार ७५६, प्रदेश सरकारबाट रु २१ लाख ५४ हजार ४६६ र सङ्घीय सरकारमार्फत् स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु २१ लाख ५७ हजार ४६५ खर्च भएको छ भने गाउँपालिकाका अध्यक्ष भण्डारीले समेत व्यक्तिगत रुपमा रु १० लाख परिचालन गरेका छन् ।
यसवर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमगङले क्षेत्रमा जलविद्युत् निर्माण शुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयबाट तीन वर्षमा रु दुई करोड ७६ लाख ४९ हजार ५२४ विनियोजन भई काम भएको पनि बताइएको छ । मौवाफाँट हुँदै दग्नामसम्मको खण्डमा तत्कालीन जिल्ला विकास समितिमार्फत् समेत सडकको ट्र्याक निर्माणमा बजेट परिचालन भएको थियो । रासस





























प्रतिक्रिया